सहिद यादवनाथ आलोकको स्मृतिमा सालिक र भवन

मेचीकाली संवाददाता

२८ चैत्र २०८०, बुधबार
126 shares

बुटवल । सहिद यादव नाथ आलोक स्मृति केन्द्र तिलोत्तमा–१३ बनकट्टीमा सहिद यादव नाथ आलोकको पूर्ण कदको सालिक निर्माण भएको छ । तत्कालीन मण्डलेको आक्रमणमा परी निधन भएका आलोकको स्मृतिमा सालिक र भवन निर्माण भएको हो ।

सालिक र भवनको बुधबार एक समारोहबिच नेपाली कांग्रेसका सभापसित तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अनावरण र उद्घाटन गरेका छन् । बुधबार आयोजित समारोहमा देउवाले सहिदले देखाएको बाटोमा अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
सभापति देउवाले सहिद यादवनाथ आलोकको पूर्णकदको सालिक अनावरण गर्दै देश र जनताका लागि काम गर्ने क्रममा अपराधीबाट मारिएका सहिदहरुको सम्मान हुन नसकेको धारणा राखे । अपराधीको जति नै निन्दा गरेपनि नपुग्ने उनको भनाइ थियो । सहिदको सपना पूरा गर्नु दलहरुको कर्तव्य भएको भन्दै सभापति देउवाले यादवनाथ आलोकको सपना पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशमा पूर्वमुख्यमन्त्री लिला गिरीले तत्कालीन जगजगीको परिस्थितिमा परिवर्तनका लागि भएका लडाइँमा ज्यान गुमाउने आलोकसहित सबै सहिद र योद्धाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री गिरीले यादवनाथ आलोकले पुराएको योगदानको सम्झना गदै उनलाई जति सम्मान गरे पनि कमी हुने धारणा राखे ।

सहिद यादव नाथ आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा सहिद पत्नी सीतालक्ष्मी न्यौपानेले श्रीमान्ले अगाडि सार्नुभएका चाहना र आंकाक्षा पूरा गर्न नेपाली कांग्रेसलाई आग्रह गरिन् ।
कांग्रेसको पार्टी संगठनका क्रममा २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरास्थित पुष्पानन्द गिरीको घरमा कांग्रेसको बैठक बसेको समयमा भएको आक्रमणमा परी आलोकको निधन भएको थियो । सोही घटनामा आलोकसहित अर्का नेता रामप्रसाद चौधरीले पनि ज्यान गुमाएका थिए ।

नेपाली कांग्रेसका नेताहरु गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सैलजा आचार्य, रामचन्द्र पौडेलसहितको टोली २०४० फागुन २० गते रुपन्देहीको कार्यकर्ता प्रशिक्षणमा भाग लिन आएको थियो ।
रुपन्देहीको हाल देवदह नपा–३ तत्कालीन केरवानी पञ्चायतको सूर्यपुरा गाउँमा त्यतिखेरका कांग्रेसका रुपन्देही सभापति पुष्पानन्द गिरीको घरमा आयोजना भएको सो कार्यक्रमको सूचना पाएका तत्कालीन मण्डलेहरुले घेरा हालेर आक्रमण गरेका थिए ।

यो घटनामा २०० जना घाईते, ३२ जना अंगभंग र २ जनाको हत्या भएको त्यतिखेरका प्रत्यक्षदर्शीहरु बताउँछन् । त्यही घटनामै इँटाले लागेर प्रधानमन्त्री रहेका कांग्रेस नेता शेरबहादुर देउवाको ओंठ काटिएको थियो । त्यसको दाग अझैपनि देउवाको अनुहारमा देख्न सकिन्छ ।