![](https://mechikalinews.com/wp-content/uploads/2023/01/eye-1.gif)
![](https://mechikalinews.com/wp-content/uploads/2024/04/60a913cc-f392-4740-bf42-4c5b3b5b5506.jpg)
बुटवल । बुटवल–९ स्थित स्कलर्स होम इङ्लिस बोर्डिङ सेकेण्डेरी स्कुलमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । बिहीबार कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरुलाई भव्य समारोहबीच विदाई तथा शुभकामना कार्यक्रम गरेका हुन् ।
कार्यक्रमको राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख प्रशासकीय अधिकृत बाबुराम भण्डारीले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले रुपन्देहीको शिक्षा देशमै उत्कृष्ट रहेको बताए । विद्यालयले गुणस्तरीय शिक्षासँगै प्रयोगात्मक र अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने बताए । ब्याचलरको शिक्षामा विद्यार्थीहरु विशेष योजना बनाएर लाग्नुपर्ने भन्दै उनले व्यक्तित्व विकास, संस्कार, संस्कृतिमा समेत सिकाई उपलब्धि हुने गरी कलेजको छनौट गर्न सुझाव दिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेले वर्तमान ग्लोबल भिलेजलाई उपयोगी व्यवहारिक शिक्षा दिन विद्यालय सफल भएको बताए । हाल व्यवस्थापन र विज्ञान दुई विषयमा अध्यापन गराउँदै आएको विद्यालयबाट उत्कृष्ट नतिजाहरु ल्याउन सफल भएको उनले दाबी गरे । कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीहरुमा बिदाई कार्यक्रम एउटा संस्कारका रुपमा विकास भएको भन्दै तडकभडक बिना सरल रुपमा गर्न सुझाव दिए ।
कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख लोकराज भण्डारी, लेखापाल नमराज बन्जाडे, एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकाल, सहप्राचार्य टिकाराम गौतम, प्लस टु कोअर्डिनेटर चेतनारायण पन्थी, म्यानेजमेन्ट कोअर्डिनेटर रामु रोकालगायतले बोल्दै विद्यालयमा हुने यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा भाइचारा विकास हुने भन्दै यस्ता कार्यक्रमलाई जोड दिनुपर्ने बताए ।
विद्यालयमा कक्षा ११ र १२ मा गरी ३०० जना विद्यार्थीहरु अध्ययरत छन् । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक तथा साहित्यिक प्रस्तुति दिएका थिए । कार्यक्रम कक्षा ११ का विद्यार्थी सन्जिव नेपालीको अध्यक्षता, विद्यार्थी प्रभा ज्ञवालीको स्वागत तथा विद्यार्थीद्वय सुसान्त गैरे र दृष्टिना रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।