आर्थिक अभावले सनमको उपचारमा समस्या, सहयोगका लागि अपिल

मेचीकाली संवाददाता

४ बैशाख २०८१, मंगलवार
134 shares

बुटवल । आर्थिक अभावका कारण अर्घाखाँचीको मालारानी गाउँपालिका–६ रतनमारेका २२ वर्षीय सनम घर्तिमगरको उपचारमा समस्या भएको छ ।

दुबै खुट्टामा समस्या देखिएपछि उनि ८ महिनादेखि ओछ्यानबाट उठ्न सकेका छैनन् । सनम उठेर हिंडडुल गर्नु त के राम्रोसँग बस्न पनि सक्दैनन्, दिसा पीसाब गर्न पनि आमा बुवाको सहारा चाहिन्छ उनलाई । घरको आर्थिक अवस्था दयनीय भएकै कारण उनको उपचारमा समस्या भएको हो । वृद्ध आमा बुवालाई पाल्ने छोरा आफै बिरामी भएपछि यो परिवार समस्यामा परेको छ ।

गत भदौमा बिहान उठ्दा सामान्य खुट्टा दुखेपछि सनम स्थानिय स्वास्थ्य चौकीमा गए । त्यहाँ सामान्य जाँच गरेर औषधि लिइ घर फर्किएका उनलाई सन्चो भएन समस्या बढ्दै गयो । त्यसपछि उनि थप उपचारका लागि जिल्ला सदरमुकाम सन्धिखर्कमा पुगे । त्यहाँको औषधिले पनि काम गरेन उनको समस्या झन् झन् बढ्दै गयो ।

गत ४ महिनादेखि भने सनम उपचारका लागि बुटवलमा बसेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न सक्ने स्थिति नरहेपछि उनको परिवारले उपचारका लागि सबैसँग सहयोगको याचना गरेका छन् । बिरामी छोराको हेरचाह गर्दै आएकी सनमकी आमा उमकला घर्तिमगरले घरको आर्थिक अवस्था कमजोर हुँदा छोराको उपचार गर्न समस्या भएको बताइन् ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराईरहेका सनमलाई डाक्टरले थप उपचारका लागि काठमाडौं जान भनेका छन् । ‘छोरा बिरामी भएपछि उपचारका क्रममा घरमा भएको सबै सम्पत्ति सकियो छोरालाई सन्चो भएन, थप उपचारका लागि डाक्टरले काठमाडौं लैजान भन्नुभएको छ काठमाडौं जान गाडीभाडा पनि छैन ।’, सनमकी आमाले भनिन् । बुटवल–११ प्रदिपनगरमा कोठा भाडा लिएर बस्दै आएका उनिहरुले कोठाभाडासमेत तिर्न सकेका छैनन् ।

काठमाडौं जाने पैसा नभएपछि एक महिनादेखि बुटवलमै थेरापी गराउँदै आएको भएपनि समस्या नघटेको उमकलाले सुनाइन् । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि कसैले पनि ऋण नदिने, घरको अवस्थाले उपचार गर्न सम्भव नभएपछि बिरामी छोरालाई अस्पताल लैजान नसकेको उनले बताइन् ।

सनमको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेको छ । उनको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले आमा उमकलाको मोवाईल नम्बर ९७४५४२६८८४ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।