नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दुवै दललाई मान्यता

मेचीकाली संवाददाता

१० भाद्र २०७८, बिहीबार
850 shares

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । आयोगको आजको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । नेकपा (एमाले)बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बुधबार बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकामा भास्कर काफ्ले र रवीन कोइराला मात्र बुधबार सनाखत हुन सकेन । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका थिए ।

सङ्घीय संसद्का २९ जना सांसदले पनि नयाँ दलका पक्षमा सनाखत गरेका थिए । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि बुधबार उक्त दलका पक्षमा सनाखतका लागि आयोग पुगेका थिए । नेकपा (एमाले)बाट विभाजन भएका हुनाले उक्त दलको तत्कालीन कायम रहेको २०३ मध्ये दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य समर्थन आवश्यक पर्दथ्यो ।

पुराना राजनीतिज्ञ महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि आयोगले बुधबार नै दलको मान्यता प्रदान गरेको छ ।