बिजयनगरमा खुला ठाउँमा दिसा गर्ने १६ जना पक्राउ

मेचीकाली संवाददाता

४ बैशाख २०८१, मंगलवार
209 shares

पार्वती आचार्य

कपिलवस्तु । विजयनगर गाउँपालिकामा खुला ठाउँमा दिसा गर्ने १६ जना व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा गाउँपालिका र ईलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले मङ्गलवार बिहान ५ बजेदेखि बस्ती, सडक तथा खेतबारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनुगमन गरेको थियो ।

प्रहरी सहितको अनुगमन टोली देखेपछि खुला दिसा गर्ने समूहको भागाभाग भएको बिजयनगर गाउँपालिकाले जनाएको छ । प्रहरी नियन्त्रणमा पर्नेमा वडा नम्बर १, २, ५, ६ र ७ का रहेको वास संयोजक बेल्बासेले बताए । नियन्त्रणमा पर्नेमा ३ जना भारतीय नागरिक छन् । उनीहरू पाहुनाका रुपमा विजयनगर आएका थिए । नियन्त्रणमा लिएकालाई शौचालय निर्माण र प्रयोग गर्ने कागज गराईं वडा अध्यक्षको जिम्मा लगाउने गाउँपालिकाले जनाएको छ ।

पालिकाले वैशाख १ गते देखि पूर्ण सरसफाइ कार्यान्वयन गरी पालिकालाई खुला दिसा मुक्त बनाउन अभियानको रूपमा अगाडी सारेको थियो । तीन महिनासम्म समुदायमा सचेतना अभियान, शौचालय निर्माणको अभियान सञ्चालन गर्दै आएको थियो । वैशाख देखि अटेरी गर्नेलाई कारबाही गर्ने योजना अगाडि सारे अनुसार पालिकाले छड्के अनुगमन गर्न थालेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

अभियानलाई पूर्ण रुप दिनका लागि ०८०÷०८१ को निती कार्यक्रम बजेटमा समेत गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख पालिका बनाउनका लागि एकघर एक सौचालय निमार्ण अभियानमा लागिरहेको बताए । अभियान चलाउँदा बिभिन्न जनचेतना मूलक संन्देशहरु मार्फत सचेत गराउँदै आएको अध्यक्ष थापाले बताए । गरिव तथा बिपन्न परिवारहरुका लागि करिव ७ सय सौचालय निर्माण कार्यको थालनी गरिएको छ ।

भने सौचालय बनाउन सक्नेहरुलाई सौचालय बनाउनका लागि अनुरोध गरिएको छ । बैशाख १ गते देखि कडाईका साथ अगाडी लैजाने प्रयास गरिएको छ । खुला ठाउँमा दिशा गर्ने व्यक्तिहरुलाई सचेत गराउने अभियानमा पालिका जुटेको छ । सोही अभियान अन्तरगत आज १६ जनालाई खुला दिशा गर्ने क्रममा फेला पारिएको हो ।

सौचालय भएका परिवारलाई सौचालय प्रयोग गर्न लगाउने , सौचालय नभएका परिवारलाई सौचालय बनाउनका लागि प्रतिवद्धता गराईएको छ । सौचालय नबनाएका र प्रयोग नगर्ने व्यक्तिहरुलाई पालिकाबाट दिईने सेवा सुविधाहरु बन्द गराई सौचालय बनाउने बिषयमा जिम्मेवार बनाउने पालिकाको लक्ष रहेको छ । हप्तामा एक दिन छड्के अनुगमन गरी शौचालय प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने पालिकाले जनाएको छ । पालिकाले सरसफाइ कार्यविधि निर्माण गरी खुला दिसा गर्नेलाई १ हजारदेखि ५ हजार रकम जरिवाना तोकिएको छ ।