लुम्बिनीमा सरकार विस्तार, ११ सदस्यीय बन्यो महरा मन्त्रिमण्डल

मेचीकाली संवाददाता

७ बैशाख २०८१, शुक्रबार
80 shares

बुटवल । नयाँ मुख्यमन्त्री बनेको दुई हप्ताभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री जोखबहादुर महराले सत्ता साझेदार सबै दलबाट प्रतिनिधित्व हुने गरी ११ सदस्यीय मन्त्रिमण्डल बनाए हुन् । मन्त्रालय बढाएर ११ पु¥याइएको ‘महराको क्याबिनेट’ मा अनुभवी र नयाँको समिश्रण छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा गत चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ११ सदस्यीय मन्त्रिमण्डलमा प्रमुख सत्ता साझेदार नेकपा एमालेबाट ५, माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित २, जनता समाजवादी पार्टी (जसपा), स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेकपा एकीकृत समाजवादीबाट बाट १/१ जना मन्त्री बनेका छन् । एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य दोस्रो वरीयताअनुसार अर्थमन्त्री बनेका छन् ।

रुपन्देहीका भूमिश्वर ढकाललाई शहरी विकास मन्त्री, गुल्मीका दिनेश पन्थी गृह मन्त्री, कपिलवस्तुका अर्जुनकुमार केसीलाई वन मन्त्री र बाँकेका रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्री पाउने बताइए पनि मुख्यमन्त्री महराले उनीहरूलाई विनाविभागीय मन्त्रीका रुपमा बिहीवार नियुक्त गरेका छन् । एमालेका पाँच जनामध्ये आचार्यबाहेक अरु सबै नयाँ मन्त्री हुन् । त्यस्तै यस अघि नै मन्त्री भइसकेका रोल्पाका नेकपा माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । स्वतन्त्र निर्वाचन जितेका पुन माओवादीमा प्रवेश गरेपछि पहिलोपटक मन्त्री बनेका हुन् ।

पश्चिम नवलपरासीका स्वतन्त्र सांसद खड्ग बस्नेतलाई उद्योग पर्यटन तथा सहकारी मन्त्री पाउने बताइए पनि अहिले विनाविभागीय रुपमा नियुक्त भएका छन् । त्यस्तै बाँकेका जनता समाजवादी पार्टी (जसपा) का भण्डारीलाल अहिर भूमि व्यवस्था कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन् ।

बर्दियाका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने बताइए पनि उनी पनि अहिले विनाविभागीय छन् । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई पनि विना विभागीय मन्त्री दिइएको छ । यस्तै जसपा र र नाउपालाई थप एक मन्त्रालय फुटाएर भए पनि भागबन्डा पु¥याउने गरी मुख्यमन्त्री महरा लागेको बताइएको छ । यसअघि माओवादीका कूलप्रसाद केसी नेतृत्वको लुम्बिनी सरकार सबैभन्दा ‘जम्बो’ १७ सदस्यीय बनेको थियो ।

नवनियुक्त मन्त्रीहरूले बिहीवार साँझ प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा नयाँ ७ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन परिवर्तन भएपछि कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार परिवर्तन भएर महरालाई सरकारको नेतृत्व गर्ने अवसर जुरेको थियो । प्रचण्डका विश्वासपात्र मानिने महराले लुम्बिनी सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन् ।