सुस्मिताको न्यायका लागि कपिलवस्तुमा प्रदर्शन

मेचीकाली संवाददाता

८ बैशाख २०८१, शनिबार
43 shares

पार्वती आचार्य

कपिलवस्तु । हेटौँडामा भएको सुस्मिता हत्याकाण्डको न्यायको माग गर्दै कपिलवस्तुमा ¥याली प्रदर्शन गरिएको छ । कपिलवस्तुबाट विवाह भएर हेटौँडा पुगेकी बाणगंगा नगरपालिका ८ बोडगाउँकी २६ वर्षीया सुस्मिता केसीको घर परिवारको मिलीमतोमा ०७७ असार २ गते योजनावद्ध रुपमा विभत्स हत्या भएको थियो । अहिले उक्त घटनाको मुख्य योजनाकारलाई नै अदालतले सफाइ दिएको भन्दै त्यसैको विरोधमा कपिलवस्तुवासी माईती पक्षले योजनाकारलाई जिल्ला अदालतले फैसला गरेको २५ वर्षको फैसला सदरको माग गर्दै धर्ना सहितको ¥याली प्रदर्शन गरेका हुन ।

सुस्मिताको न्यायका लागि संघर्ष समिति कपिलवस्तुले घटनाका योजनाकारलाई कुनै हालतमा उन्मुक्ति नदिइयोस् भन्ने दबाब सिर्जना गर्न वृहत् प्रदर्शन कार्यक्रम राखिएको सुस्मिताको न्यायको लागि गठन भएको संघर्ष समितीका अध्यक्ष अम्बिका पौडेलले जानकारी दिनुभयो । विहान ८ बजे नगरपालिका वडा नम्बर २ स्थित इलाका प्रहरी कार्यालय पिपरा अगाडी जम्मा भएर धर्ना दिई प्लेकार्ड र नारासहित ४ नम्बर चोकमा ¥याली सहित कोणसभा गरिएको पौडेलले बताउनु भयो । पीडितका ठुला बुबा हेम खड्काले सुस्मिताको न्यायको लागि अब ज्यानको बाजी लगाउन समेत तयार रहेको बताउनु भयो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ की २६ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साढे २ वर्षपछि हत्यामा संलग्न चारजनालाई जिल्ला अदालत मकवानपुरले जन्म कैदको फैसला गरेको थियो । सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई हत्याको कसुरदार ठहर गरी जन्मकैद अर्थात जनही २५ वर्षको कैदसजाएको फैसला गरेको थियो । तर ज्वाई अरुण कार्की र उनकी पत्नी दुर्गा कार्कीलाई उच्च अदालत हेटौँडाले सफाई दिएको छ ।

पीडित परिवारले घटनाका मुख्य योजनाकार नै तिनै दुर्गा र अरुण नै रहेको भन्दै तिनलाई सफाई दिन नहुने बताउँदै आएका छन् । जिल्ला अदालतले जन्म कैदको फैसला गरे पनि उच्च अदालतले मुख्य योजनाकारलाई सफाई दिएर आफूहरुमाथि ठुलो अन्याय गरेको हुनाले अन्तिम लडाइ स्वरुप दबाब दिई योजनाकार दोषीलाई जिल्ला अदालतको सदरको मागका लागि बृहत ¥याली गरिएको खड्काले बताउनु भयो ।

कपिलवस्तुको प्रदर्शनपछि अब आफू काठमाडौँमा धर्ना बस्ने पीडित पक्षले बताएका छन् । अदालतको मानहानी गर्न नभई मृतक सुस्मिता छोरीको न्यायको लागि यो दबाब कार्यक्रम गरिएको बिभिन्न सामाजिक संजालले गठन गरेको संघर्ष समिलेले जनाएको छ ।

मृतक सुस्मिताकी आमा गंगा केसीले विगत ४ बर्षदेखि लड्दालड्दै आफूहरु पनि सिद्धिन लागेको अवस्थामा अदालतको फैसलाले झन् दुखि बनाएको भन्दै न्यायको लागि सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्नु भयो । बिभिन्न दबाब र प्रभावले घटनाको मुख्य योजनाकारलाई उन्मुक्ति दिने गरी उच्च अदालतले फूर्णपाठ देला भनेर आफूहरुले कल्पनासम्म नगरेको केसीले बताउनु भयो । छोरीको क्रुर हत्या हुँदा पनि न्यायको भिख माग्न सडकमा उत्रिनु पर्ने भन्दै दुख व्यक्त गर्नुभयो । आफ्नी छोरी अब आफूले नपाए पनि मुलुकभरका सुस्मिता जस्ता हजारौँ छोरीहरुको न्यायको लागि यो अभियान गरिएको गंगा केसीले बताउनु भयो ।

पति वियोगमा रहेकी क्षेत्रीको हत्या तत्कालिन समय ठूलो विमा रकम हत्याउन बुहारीकै हत्या गरिएको तथ्य छ । २०७६ वैशाख १८ गते सुस्मिताको प्रकाशका छोरा रूपेन्द्र थापासँग बिवाह भएको थियो ।

बिबाह भएको ६ महिनापछि अर्थात ०७६ असोज २३ गते कपिलवस्तु ससुरालीबाट फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा रुपेन्द्रको निधन भएको थियो । त्यसपछि ०७७ असार २ गते परिवारको योजनावद्ध रुपमा विभत्स हत्या भएको थियो । ठुलो विमा रकम हत्याउन सुस्मिताको हत्या गरिएको प्रहरीमा तथ्य रहेको पीडित परिवारले जनाएको छ ।

अभियानमा सुरुदेखि लागेका राष्ट्रिय स्वयम् सेवक सघका अध्यक्ष खेमराज पौडेलले सबै जुटेर दबाब सिर्जना गनुृको विकल्प नभएको बताउनु भयो । उहाँले काठमाडौँ पनि संघर्षसमिति बनिसकेको बताउँदै अब आन्दोलनले झन चर्को रुप दिने बताउनु भयो ।

प्रदर्शनमा सुस्मिताले न्याय पाउनै पर्छ , हत्याका योजनाकारलाई जिल्ला अदालतको २५ वर्ष सजायलाई सदर गर , हत्याकाण्डका पाँचैजनालाई आजिवन कारावास हुनै पर्छ , हत्या , बलात्कारबाट मरिएका छोरीहरुलाई न्याय दे , दोषिलाई प्रमाणका आधारमा कानुनी सजाय हुनुपर्छ , हत्याका योजनाकारलाई तुरुन्त कारवाही गर , नारीको सम्मान गर , हत्या हिंसा अन्त्य गर , न्याय हाम्रो माग हो लगाएतका प्लेकार्ड सहित न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा बाणगंगा नगरपालिकाका बिभिन्न सरोकारवाला , इन्सेक , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु , महिला समूहहरु , सुरक्षाकर्मी , संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।