सामुदायिक विद्यालयमा भर्नाको लागि स्तरमापन परीक्षा

मेचीकाली संवाददाता

९ बैशाख २०८१, आईतवार
92 shares

बुटवल । देशभर नयाँ शैक्षिक सत्र सुरु भएसँगै भर्ना अभियान चलेको छ । विद्यालय बाहिर भएका बालबालिकालाई विद्यालयमा ल्याउनको लागि तीनै तहका सरकारले सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन गरिरहेका छन् ।
देशभर भर्ना अभियान चलिरहँदा हिमाली र पहाडी क्षेत्रका साथसाथै तराईका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या भने घट्दै गइरहेका छन् तर केही यस्ता सामुदायिक विद्यालय पनि छन् जहाँ बालबालिकालाई भर्ना पाउन मुस्किल पर्छ । रुपन्देहीमा केही अब्बल रुपमा दरिएका सामुदायिक विद्यालयमा बोर्डिङ स्कुल छाडेर जाने विद्यार्थीलाई समेत भर्ना पाउन मुस्किल पर्छ ।
संस्थागत विद्यालयको महँगो शुल्कको मारमा परेका अभिभावक उत्कृष्ट नजिता ल्याएका सामुदायिक विद्यालयमा छोराछोरी पढाउन आकर्षित छन् । तर, सीमित ‘कोटा’ मात्र विद्यालयले छुट्टाउँदा भर्ना पाउनु मुस्किल बनेको हो । विद्यालयले निश्चित कोटामा विद्यार्थीलाई भर्ना गराउन आह्वान गरेको ‘स्तरमापन परीक्षा’ मा हजारौं विद्यार्थीले सहभागिता जनाएपनि सबैलाई भर्ना गर्न विद्यालयले सकेका छैनन् ।
देशकै सबैभन्दा बढी विद्यार्थी रहेको दावी गर्ने बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा सिधै भर्ना पाउन कसैको सोर्स चल्दैन । यस वर्ष विद्यालयले कक्षा ४, ५, ६ र कक्षा ९ तर्फ कम्प्युटर इन्जिनियरतर्फ नयाँ भर्ना गर्दैछ । विद्यालयले यस वर्ष कक्षा ४ मा ८० जना, कक्षा ५ मा ४० जना, कक्षा ६ मा १६० र कक्षा ९ मा ४८ जनालाई भर्ना गराउनेछ । कुल ३२८ नयाँ विद्यार्थीहरु भर्ना गर्ने भए पनि विद्यालयले लिन लागेको ‘स्तरमापन परीक्षा’मा करिब २ हजार ५ सय विद्यार्थी सहभागी भएका छन् ।
‘शनिबार परीक्षा भएपछि हामीले प्राप्त नतिजाका आधारमा छुट्याइएको कोटामा मात्र विद्यार्थी भर्ना लिनेछौँ । अरू विद्यार्थीलाई भर्ना लिन सकिँदैन’, विद्यालयका प्राचार्य दिनेश थापाले भने । कालिका मानवज्ञान विद्यालयमा गत वर्ष ३ हजारले प्रवेश परीक्षामा दिएकोमा ४ सय जनाले नयाँ भर्ना पाएका थिए । विद्यार्थीहरू सामुदायिक विद्यालयमा आर्कषण हुनु राम्रो भए पनि आफूहरूको स्रोत साधन र भौतिक पूर्वाधारलगायतको अवस्था हेरेर सबैलाई भर्ना लिन नसकिएको प्राचार्य थापाले बताए । अंग्रेजी माध्यममा अध्यापन हुने यो विद्यालयमा हाल ८ हजार ८९ विद्यार्थी छन् ।
सेक्टर ‘ए’ र सेक्टर ‘बी’ गरेर दुई स्थानमा विद्यालय सञ्चालनमा छ । न्यून दरबन्दी रहेको विद्यालयमा १५० भन्दा बढी अस्थायी शिक्षक छन् । राज्यले निःशुल्क शिक्षा भने पनि विद्यालयले अभिभावकबाट सहयोग शुल्क उठाउने गरेको छ । त्यसबाहेक केही रकम विद्यालयले सटर भाडामार्फत आम्दानी गर्ने गर्दछ । सरकारी विद्यालयमा राम्रो पढाइ हुँदैन भन्ने आम मानसिकतालाई बुटवलका कालिका मानवज्ञान माध्यमिक विद्यालय जस्ता विद्यालयले तोडेका छन् । योसँगै बुटवलका अन्य चार सामुदायिक विद्यालयमा पनि विद्यार्थी भर्ना गर्नेको चाप छ ।
कान्ति माध्यमिक विद्यालयमा पनि धेरै अभिभावकहरूले आफ्ना छोराछोरी भर्ना गराउन चाहे पनि सहजै भर्ना गराउन पाउँदैनन् । त्यहाँ पनि विद्यालयले प्रवेश परीक्षा गराएर विद्यार्थीहरूलाई भर्ना लिने गरेको छ । गत वर्ष मात्र यो विद्यालयमा भर्ना हुन भनेर आएका १ हजार विद्यार्थी भर्ना हुन नपाएर फर्केका थिए ।
विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीका अनुसार यस वर्ष विद्यालयले कक्षा ४ देखि ९ सम्म नयाँ भर्नाका लागि ४०० विद्यार्थीहरू लिन सक्ने क्षमता भए पनि प्रवेश परीक्षामा २ हजार बढी विद्यार्थी सहभागी भएका थिए । ‘निश्चित कोटाबाहेक थप विद्यार्थी भर्ना गर्न हामीसँग आवश्यक पूर्वाधार र जनशक्ति छैन,’ उनले भने, ‘कतै विद्यालयमा विद्यार्थी नभए पनि पूर्वाधार बनेका छन् तर हाम्रोमा विद्यार्थी छन् तर पूर्वाधार र जनशक्ति छैनन् त्यसैले पनि सबैलाई भर्ना गर्न सकिँदैन ।’
पूर्वप्राथमिक तहदेखि तीन कक्षासम्म भने विद्यालयले सिधै भर्ना लिएको प्राचार्य ज्ञवाली बताउँछन् । विद्यार्थीलाई भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिएको उनको भनाइ छ । अंग्रेजी माध्यममा अध्यापन हुने यो विद्यालयको मुख्य आम्दानी पनि अभिभावकबाट लिने शुल्क नै हो । त्यसका अतिरिक्त विद्यालयले सटर भाडाबाट पनि केही रकम आम्दानी गर्दै आएको छ ।
अभिभावक र सटर भाडाबाट हुने आम्दानीबाट विद्यालयमा रहेका १३० भन्दा बढी शिक्षकहरूले तलब पाउने गरेका छन् । हाल विद्यालयमा ५ हजार २२९ विद्यार्थीहरू रहेका छन् । बुटवलकै देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयमा पनि नयाँ भर्नाका लागि प्रवेश परीक्षामा १ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन् ।
यस वर्ष सबै कक्षामा गरी नयाँ विद्यार्थी २५० भर्ना गर्न सकिने भएपनि भर्ना हुन चाहने १ हजार ५ सय भन्दा बढी विद्यार्थीहरूले ‘स्तरमापन परीक्षा’ मा सहभागी भएको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले बताए ।
उत्कृष्ट सामुदायिक विद्यालय मात्र नभएर बुटवलका राम्रा निजी विद्यालयहरूमा पनि विद्यार्थी भर्ना पाउन मुस्किल छ । बुटवलका अक्सफोर्ड माध्यमिक विद्यालय, न्यू होराइजन, एभरेष्ट बोर्डिङ, दीप बोर्डिङ जस्ता विद्यालयहरूमा चाहेर पनि अभिभावकले सन्तानलाई भर्ना गर्न पाएका छैनन् । यी विद्यालयहरूले पनि ‘स्तरमापन परीक्षा’ लिएर नयाँ विद्यार्थी भर्ना लिन्छन् । अक्सफोर्ड बोर्डिङ स्कुलका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरूको नयाँ भर्नाका लागि चाप रहेपनि सबैलाई भर्ना लिन नसकिएको बताए । उनले सरकारी नीतिका कारणले निजी विद्यालयले लगानी बढाउन नसक्दा विद्यालयमा विद्यार्थी भर्ना लिन नसकिएको बताए । ‘हामी नयाँ कक्षाकोठा थप गर्ने पक्षमा छैनौं, पूर्वाधार पनि छैन,’ उनले भने, ‘कुनै विद्यार्थी केही कारणले अन्यत्र गएर स्थान खाली भएमा मात्र नयाँ भर्ना लिन सक्छौँ ।’