निजामति कर्मचारी संगठन रुपन्देहीद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

९ बैशाख २०८१, आईतवार
48 shares

बुटवल । नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाले संघिय निजामति सेवा ऐन कर्मचारीको मनोबल उच्च पार्ने गरी छिटो संसदबाट पारीत गरी लागु गर्नुपर्ने धारणा राखेका छन् ।

नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले ३४ औं स्थापना दिवसको अबसरमा बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले संसदमा दर्ता भएको ऐनमा थुप्रै सकरात्मक विषयहरु हुँदाहुँदै पनि केही गलत प्रावधान राखि ल्याउन खोजिएकोले ती प्रावधानहरु संशोधन गरी पारित गराउन नेपाल निजामती कर्मचारी संगठन निरन्तर लागि रहेको बताए । नेपालको निजामती सेवामा ट्रेड युनियन अधिकारका विषयमा अन्तरक्रियात्मक विधिबाट प्रशिक्षण दिए ।

उनले संघ, प्रदेश र स्थानीइ तहका कर्मचारीलाई सर्व स्वीकार्य हुने गरी उक्त ऐन संसदबाट पारित गरिनु पर्नेमा जोड दिदै तहमा कार्यरत निजामती सेवा, स्वास्थ्य सेवा, संसद सेवा र साविकका स्थानीय सेवाका कर्मचारीहरुलाई संघीय निजामती सेवाको परिभाषा भित्र समेटी एकृकित संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने धारणा राखे । कर्मचारीको सरुवा, पारदर्शी र रोजेको स्थानमा जान पाउने गरी हुनुपर्ने कोइरालाको भनाई छ । कर्मचारीको सेवा सुविधामा कटौती हुनै नसक्ने भन्दै उनले, ऐन छलफल र सुझाब ग्रहण गरेर ल्याउन सरकार र संसदको राज्य व्यवस्था समितिलाईलाई अनुरोध गरे ।

कार्यक्रममा संघठनकी उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख भवानी दाहालले नेतृत्व शैली र क्षमता विकास विषयमा प्रशिक्षण दिदै संसदमा दर्ता भएको संघीय निजामती विधेयकको रहेका ११ वटा सेवा समुहमा संसद सेवा र स्वास्थ्य सेवा थप गरी १३ सेवा समुह कायम गरेर छिटो संघीय निजामती सेवा ऐन जारी गर्नु पर्ने बताइन ।

माक्सवादी दर्शन र नेपालको प्रशासन विषयमा प्रशिक्षण दिदै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका स्कुल विभाग उपप्रमुख दल बहादुर गुरुङ्गले माक्सवादी दर्शनले नेपालको प्रशासनमा सकरात्मक सन्देश प्रभाह गरेको कुरामा जोड दिएका थिए । अर्का प्रशिक्षक राम बहादुर रावतले सकरात्मक सोच शिर्षकमा प्रशिक्षण दिदै राज्य संचालन संयन्त्रको मुटुको रुपमा रहेको निजामती प्रशासनले सकरात्मक सोच राखी सेवा प्रवाह गर्ने हो देश विकास र मुस्कान सहितको सेवा प्रवाहमा उल्लेख्य योगदान पुग्ने उल्लेख गर्दै हाल निजामती सेवामा देखिएको खस्किदो कार्य क्षमतामा उत्कृटता सहितको पुनरागमन हुने बताएका थिए ।

संगठनका रुपन्देही जिल्ला अध्यक्ष प्रेम प्रसाद खनालले प्रशिक्षण कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण प्रशिक्षक, संगठन र पेशागत महासंघ नेपालका साथै राष्ट्रिय स्वास्थ्य कर्मी महासंघका केन्द्र प्रदेश र जिल्लाका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई आभार प्रकट गरे । तालिममा सहभागीहरुलाई आफुले सिकेको कुरा व्यवहारमा उत्तारी प्रशिक्षण उपलब्धि मुलक भएको आभाष दिलाउने गरी सेवा प्रवाहमा जुट्न उनले आग्रह गरे । उक्त कार्यक्रममा रुपन्देहीमा कार्यरत संगठनका १५० जना सदस्यले प्रशिक्षण लिएको उनले बताए ।

कार्यक्रममा संगठनका लुम्बिनी प्रदेश ईन्चार्ज दधिराम मरासिनी, केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायणप्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता, उपाध्यक्ष ठानेश्वर बस्यालको स्वागत, सचिव जिवन पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही अबसरमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सरुवा भई अध्यागमन विभागमा जान लागेका संगठनका केन्द्रीय सचिवालय सदस्य दीपक शर्मा पौडेललाई फेरी भेटौला कार्यक्रम गरी विदाई गरिएको थियो ।