वालिङमा मेडिटेसन तालिम हुने

मेचीकाली संवाददाता

९ बैशाख २०८१, आईतवार
365 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले मेडिटेसन प्रशिक्षण आयोजना गर्ने भएको छ । वैशाख १६ देखि १९ गतेसम्म राजयोग मेडिटेसन प्रशिक्षण गर्ने ओमशान्ति वालिङले जनएको छ । वालिङ नगरपालिकाका जन प्रतिनिधिहरु र सञ्चारकर्मीसँग आइतबार संयुक्त बैठक बसी ४ दिने राजयोग मेडिटेसन प्रशिक्षण गर्न लागेको बताएको छ ।

उक्त कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले मानिसको अन्तिम लक्ष्य भनेको आनन्द हो, आनन्द भयो भने सबै चाहना पूरा भएको अनुभूनि हुने बताए । आध्यात्मिकताले मानिसलाई शान्ति र आनन्द मिल्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले एक स्वयम्सेवी आध्यात्मिक संस्थाले प्रशिक्षण कार्यक्रम राखेर राम्रो गरेको उल्लेख गरे ।

भौतिक विकासका क्रममा पूराना पाटी पौवा, चौतारीहरु विनास भएका छन् । यसरी विकासका नाममा भएका कामले पनि आतङ्कित र उत्तेजना पैदा गराएको एक अनुसन्धानले देखएको बताए । मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताका लागि स्वयमसेवी संस्थाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भई आत्मिक लाभ लिन प्रमुख प्रशासकीय अधिकृत शर्माले वालिङवासीलाई आग्रह गरे ।

संयुक्त वैठकका प्रस्ताव तथा कार्यक्रमको औचित्य र महत्वका बारेमा ब्रह्माकुमार शङ्कर देवकोटाले प्रकाश परेका थिए ।

प्रशिक्षणमा जनप्रतिनिधि, युवा क्लव, टोल विकास संस्था तथा आमा समूहमा क्रियाशिल व्यक्तिहरुसहित समुदायको सक्रीय २ हजार सहभागी गराउने लक्ष्य रहेको ब्रह्माकुमार देवकोटाले जानकारी दिए ।

यसैगरी संसार परिवर्तनमा टेवा पुगोस भनेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको वालिङ शाखाकी प्रमुख ब्रह्माकुमारी कविताले बताइन् । ‘अनेकौं जिम्मेवारीहरुको दवाव, अस्वस्थ र अन्तहिन प्रतिस्पर्धा एवम् बदलिँदो परिवेशसँगै सामना गर्नुपर्ने चुनौतिहरुका कारण जीवनशैली अतिव्यस्त र तनावग्रस्त छ ।’ उनले भनिन् । व्यक्तिगत पारिवारिक एवम् व्यवसायिक समस्याहरुको वैज्ञानिक तथा आध्यात्मिक विधिद्वारा समाधान गरी आत्मिक सुख, मानसिक शान्ति, एवम् आन्तरिक शक्तिको गहन अनुभूति गराउने उद्देश्यले अपूर्व उत्प्रेरक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।

कार्यक्रमलाई वालिङ नगरपालिकाले सहयोग गर्ने भएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेद्वारा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।