बुटवलमा हाफ् म्याराथन तथा दौड प्रतियोगिता हुँदै

मेचीकाली संवाददाता

१० बैशाख २०८१, सोमबार
42 shares

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जेठ ३ गते बुटवलमा दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला हाफ् म्याराथन तथा दौड (रोड रेस) प्रतियोगिता र वाल्कथुन हुने भएको छ । नेकपा एमाले तत्कालिन महासचिव जननेता मदन भण्डारीको ३१औँ स्मृति दिवसका अवसरमा ‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मदन भण्डारी कप खुला हाफ म्याराथन तथा दौड प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । गत वर्ष शान्तीको कामनासहित भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता सम्पन्न गरेको एकेडेमीले यस पटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा नेपालका जुनसुकै जिल्ला, विद्यालय तथा विश्वविद्यालयका खेलाडी सहभागी हुन पाउने मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । बालकदेखि वृद्धसम्मलाई जोडेर प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । म्याराथनमा सहभागी हुन चाहने खेलाडीले बैशाख २५ गतेसम्म नाम दर्ता गराउनुपर्ने आचार्यले बताए । खेलाडीको स्वास्थ्य (मेडिकल) परीक्षण जेठ २ गते गरिने उनले जानकारी दिए । हाफ् म्याराथनको दुरी २१ किलोमिटर रहने उनले बताए ।

म्याराथनमा (पुरुष) प्रथम पुरस्कार रु. १ लाख, द्वितीय पुरस्कार रु. ७५ हजार, तृतीय पुरस्कार रु. ५० हजार, चौथो रु. ३० हजार, पाँचौ रु. २० हजार, छैठौं रु. १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।
त्यस्तै कलेज स्तरिय खुला छात्र (१० किमी) दौड प्रतियोगितामा प्रथम पुरस्कार रु. ३५ हजार, द्वितीय पुरस्कार रु. २५ हजार, तृतीय पुरस्कार रु. १५ हजार, चौथो रु. १० हजार, पाँचौ रु. ७ हजार, छैठौं रु. ५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन बहादुर घलेले बताए ।

यस्तै विद्यालय स्तरिय खुला छात्र (५ किमी) दौड प्रतियोगितामा प्रथम पुरस्कार रु. २० हजार, द्वितीय पुरस्कार रु. १५ हजार, तृतीय पुरस्कार रु. १२ हजार, चौथो रु. १० हजार, पाँचौ रु. ७ हजार, छैठौं रु. ५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तैगरी बिद्यालय स्तरिय छात्रा (३ किमी) दौड प्रतियोगितामा प्रथम पुरस्कार रु. १५ हजार, द्वितीय पुरस्कार रु. १० हजार, तृतीय पुरस्कार रु. ७ हजार, चौथो रु. ५ हजार, पाँचौ रु. ३ हजार, छैठौं रु. २ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै बिद्यालय स्तरिय ५ देखि १० वर्षसम्मका छात्र/छात्रा (१०० मिटर) दौड प्रतियोगिता र ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुका लागि वाल्कथुन प्रतियोगिता आयोजना गरीएको छ ।

सोही अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नियमित औषधि उपचारका लागि एकेडेमीले दुई वर्षका लागि मासिक ४ हजारका दरले औषधि खर्च उपलब्ध गराउने अध्यक्ष आचार्यले बताए । प्रतियोगिताको तयारी तीब्र पारिएको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए ।

‘सबैका लागि खेल’ भन्ने नारासहित मदन भण्डारी स्पोर्टस् एकेडेमी २०६६ पुस १७ गते स्थापना भएको हो । तत्कालिन एमाले महासचिव मदन भण्डारीको स्मृतिमा उनको भावना समेट्ने गरी मदन भण्डारी फाउण्डेशनले एकेडेमी स्थापना गरेको हो । स्थापनापछि यसले खेलाडि उत्पादन, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल गतिविधि गरिरहेको अध्यक्ष आचार्यले बताए ।