थाइराइड रोगको बढ्दो ग्राफ

मेचीकाली संवाददाता

१५ बैशाख २०८१, शनिबार
94 shares

ओम बानियाँ

केही वर्ष यता संसारभरि नै थाइराइडिज्म (थाइराइड ग्रन्थिका रोगहरु) का बिरामी बढिरहेका छन् । यस बिरामीको लेभल पाएका अधिकांश मानिसहरु, खासगरी महिलाहरु निकै भयभित छन् । थाइराइडको समस्याले भन्दा पनि यो रोग डाइग्नोसिस भएपछि उनीहरुमा अनेक थप समस्याहरु पनि देखिने गरेको छ । यसरी थाइराइडिज्मका बिरामी बढ्नुमा अस्पताल र चिकित्सकको पनि हात रहेको कतिपय विशेषज्ञहरु बताउँछन् ।

थाइराइड के हो ?
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडोथाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपरथाइरोइडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन हुनुलाई हाइपोथाइरोडिज्म भनिन्छ । साधारणतया थाइराइडका रोगहरु चार किसिमका हुन्छन्, थाइराइड ग्रन्थीमै मासु वा डल्लो पलाउने, थाइराइड नोडुल वा क्यान्सर, हाइपरथाइराडिज्म र हाइपोथाइराडिज्म ।

हाइपोथाइराइडिज्मः
थाइराइड रोगमा पनि सबैभन्दा बढी देखिने समस्या भनेको हाइपोथाइराइडिज्म हो । हर्मोनको उत्पादन कम भएमा यो रोग लागेको मानिन्छ । पुरुषको तुलनामा महिलामा यो रोग बढी देखिन्छ । खासगरी २० देखि ४० वर्ष उमेरसमूहका प्रजनन उमेरका महिलालाई बढी सताउँछ । यसका साथै सीमित रुपमा पुरुष तथा बालबच्चाहरुलाई पनि यो रोग लाग्न सक्छ । हाइपोथाइराइडिज्ममा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन क्षमतामा कमी हुने हुन्छ । कसैकसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन् ।
हाइपरथाइराइडिज्मः
हाइपरथाइराइड हाइपो जस्तो धेरैलाई लाग्ने रोगमा पर्दैन । यो रोग पनि बढीजसो प्रजनन उमेरका महिलामा देखिन्छ । त्यसो त हाइपर थाइराइडिज्म हाइपोको तुलनामा केही जटिल मानिन्छ । सही तरिकाले उपचार नभएमा यसले ज्यान नै जोखिममा समेत पार्न सक्छ । त्यसैले यसको उपचार समयमै गरिहाल्नुपर्छ । कतिपय बिरामीले रेडियो एक्टिभ आयोडिन भन्ने विशेष किसिमको औषधी सेवन गर्नुपर्ने हुन्छ । हाइपरथाइराइडिज्ममा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ ।

युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर विचार पु¥याउनुपर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने उदाहरण पनि प्रशस्त छन् । मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिलेकाहीँ हाइपरथाइराइडिज्ममा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफैँ निको भएर जान्छ ।

कुबेर साहु कि पत्नी धनलक्ष्मीको थाइरायडको अप्रेसन हुँदै थियो । अचानमा उनी मृत्युको नजिक पुगिन् । त्यत्ति नै बेला उनलाई भगवान्सँग कुरा गर्ने मौका मिल्यो । अब मेरो समय सकिएको हो प्रभु ? धनलक्ष्मीले भगवान्लाई सोधिन् । छैन, भगवान्ले जवाफ दिए, तिमीसँग अझै ३० वर्ष, ६ महिना र ६ दिन समय बाँकी छ । मृत्युको मुखमा पुगिसकेकी धनलक्ष्मीको शरीरमा प्राण फर्कियो । ६० वर्षकी धनलक्ष्मीलाई अझ करिब ३० वर्ष आफ्नो आयु बाँकी रहेको अवगत भएपछि अबको ३० वर्ष ३० वर्षकी तन्नेरी बनेर फुलमस्ती जिउने लोभ जाग्यो । अनि उनले आफ्नो अनुहार तथा पेटको सर्जरी गराइन् । कपाल रंगाइन् । युवतीको जस्तो हेयर स्टायल बनाइन् । हप्तादिनको अस्पताल बसाइ सकिएपछि उनी डिस्चार्ज भइन् । अस्पतालबाट डिस्चार्ज भएपछि बाटो काट्ने क्रममा कारले उनलाई ठक्कर दियो । उनको तत्कालै मृत्यु भयो । यमलोकमा धनलक्ष्मीले भगवान्लाई देख्नेबित्तिकै रिसाउँदै बोलिन्, भगवान् ! गत हप्ता मात्र हजुरले मेरो आयु अझ ३० वर्ष बाँकी छ भन्नुभएको थियो । तर कारले ठक्कर दिँदा हजुरले मलाई किन बचाउनुभएन ? भगवान्ले धनलक्ष्मीलाई घुर्दै भने– मैले तिम्लाई चिनिन् नि । गल्ती मेरो कि तिम्रो ?

थाइराइड नोडुल वा क्यान्सरः
थाइराइड ग्रन्थिमा गिर्खा पलाउँदैमा त्यो क्यान्सर नै हुन्छ भन्ने छैन । तर, त्यसको लागि चिकित्सकको निगरानीमा बसेर फलोअफ गर्नु जरुरी हुन्छ । किनकि कतिपय त्यस्ता गिर्खा वा डल्ला पछि गएर क्यान्सरमा परिणत पनि हुन सक्दछ । केही गरी थाइराइड क्यान्सर भइहाले पनि त्यो त्यति डरलाग्दो रोग भने हैन । यो निको हुने क्यान्सर मध्यमा पर्छ । तर, त्यसको पहिचान समयमा हुन जरुरी छ । कसैलाई थाइराइड क्यान्सर भए नभएको साधारण भिडियो एक्स रे र एफएनएसी जाँचबाटै थाहा हुन्छ । थाइराइडका बिरामीले थाइराइड ग्रन्थीमा क्यान्सर भएनभएको पत्ता लगाउन वर्षमा कम्तीमा एकपटक थाइराइडको अल्ट्रासाउण्ड गर्नु उचित हुन्छ । थाइराइड नभएकाहरुले पनि घाँटीमा कुनै गिर्खा देखा परेमा चिकित्सकसित परामर्श लिइहाल्नुपर्छ ।

थाइराइडिज्म कारणः
सामान्यतया थाइराइड रोग शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएमा लाग्ने गर्छ । यो शरीरको आफ्नै कारण (अटोइम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन । वंशानुगत रुपमा पनि यो रोगले सताउने गर्छ । थायराइड हर्मोन कम हुने (हासिमोटो थायराइडिज्म) र थायराइड हर्मोन बढी हुने (ग्रेब्स) वंशजबाट आउन सक्दछ । रुघा लागेमा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थिमा संक्रमण भएर यो रोग देखिन सक्दछ । विभिन्न केमिकल्स (रसायन) र अन्य कारणले वातावरणीय प्रदूषणले गर्दा पनि यो रोग लाग्ने गर्छ । लामो समयसम्म औषधीका प्रयोगले पनि मानिसहरुमा थाइराइडको समस्या देखिने गर्छ । जस्तैः मानसिक समस्या तथा मुटु रोगका बिरामीलाई प्रयोग गरिने औषधीका कारण पनि थाइराइड रोग लाग्न सक्दछ । विभिन्न विकिरणको प्रयोगले पनि थाइराइड क्यान्सर हुने सम्भावना रहन्छ । थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर यो रोग महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो ।

बालबालिकामा वंशाणुगत कारणले हाइपोथाइरोडिज्म रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सोभन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । थायराइडिज्मको कारणको कुरा गर्दा यसको मनोवैज्ञानिक पक्षलाई पनि हेर्नु आवश्यक हुन्छ । खुलेर हाँस्न नसक्ने वा हाँसो दबाउने तथा खुलेर रुन नसक्ने वा रुवाइ दबाउने मानिसहरु नै थाइराइडिज्मबाट पीडित हुने कतिपय मनोविद्हरुको दावी छ ।

थाइराडिज्मको उपचारः
हालसम्म थाइरोडिज्म ठीक गर्ने कुनै औषधी बनेको छैन । औषधीले केवल नियन्त्रण गर्ने हो । तर औषधी खाँदा पनि विरामीको लक्षणहरुमा खासै अन्तर देखिँदैन । बिरामीले जीवनभर चिकित्सक र ल्याब टेस्टको चक्कर लगाउनुपर्छ । चिकित्सकले ल्याब टेस्टको रिपोर्टअनुसार औषधीको पावर थपघट गरिहन्छन् । बिरामीहरुले नमर्दासम्म यो प्रक्रिया चलिरहन्छ ।

विश्वप्रसिद्ध चिकित्सक प्रा.डा.बीएम हेग्डेले यसलाई मेडिकल साइन्सको नांगो दुरुपयोग भन्ने गरेका छन् । थाइरोडिज्मको उपचार पनि नेचुरल तरिकाले गर्नु पर्ने उनको धारणा रहेको छ भने एक्युप्रेसर चिकित्सा, नियमित ३/४ महिना तुलसी तथा गोमूत्रकोे सेवनबाट थाइरोडिज्म मुक्ति प्राप्त गर्न सकिने कतिपय प्राकृतिक चिकित्सको दावी छ । अधिकांश चिकित्सकहरुले भन्ने गर्छन्, थाइराइड अटोइम्युन रोग भएकाले खाना बार्नु पर्दैन । तर यो सत्य होइन, थाइराइडका बिरामीहरुले विशेषगरी, काउली, ब्रोकाउली, आयोडिनयुक्त नुन र सी फुड (सामुद्रिक खाना) बाट जोगिनुपर्छ । बढी आयोडिन र समुद्रबाट निकालिएका माछाले हानी गर्छ ।

नेपालमै नदीनाला र पोखरीमा पाइने माछाले भने केही बिगार गर्दैन । तर, यस्ता खानेकुरा भरसक कम खानुपर्छ । हाइपोथाइराइडिज्म भएका बिरामीहरुमा मोटोपनको समस्या बढी हुने भएकोले मोटोपन घटाउन ध्यान दिनुपर्छ । ती बिरामीले विशेषगरी भात, आलु, मैदा, गुलियो, चिल्लोलगायतका क्यालोरी अधिक हुने खानेकुरा कम खानुपर्छ । सकारात्मक जीवनशैली अपनाउने, शारीरिक कसरत गर्ने, खुसी हुँदा खुलेर हाँस्ने र पीर पर्दा खुलेर रुने हो भने पनि थाइरोइड स्वस्थ बनाउन निकै फाइदा पुराउँछ ।