युवा जनशक्ति: विदेशको आसक्ति

मेचीकाली संवाददाता

१५ बैशाख २०८१, शनिबार
295 shares

कमल पन्थी

विषय प्रवेश
ताकत, बल, हिम्मत र साहसले भरिपूर्ण उमेर भएको व्यक्तिलाई युवा भनिन्छ । नेपाली उखानमा पनि भन्ने गरिन्छ, ‘यो उमेरमा माटो, ढुङ्गा जे खाएपनि पच्छ ।’ प्रज्ञा नेपाली बृहत् शब्दकोशमा तरुण; जवानीले नछाडेको र बुढ्याइँले नछोएको व्यक्ति भनिएको छ । नेपालमा उमेर समूहका हिसाबले १६ देखि ४० वर्षका उर्वर उमेरका व्यक्तिहरुलाई युवा मानिएको छ । राष्ट्रिय जनगणना २०७८ ले युवाको जनसंख्या कुल जनसंख्याको ४२ प्रतिशत रहेको देखाएको छ । संयुक्त राष्ट्र संघले सदस्य राष्ट्रका लागि १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ । संयुक्त राष्ट्र संघले सन १९८५ लाई अन्तर्राष्ट्रिय युवा वर्ष र अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस घोषणा गरेको छ । राष्ट्रिय युवा नीति, २०७२ मा युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत हुन् । साहस, सिर्जनशीलता, उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रुपमा परिभाषित गरिएको छ ।

युवा भनेको देशको शक्ति मात्र नभै अर्थतन्त्रलाई जीवन्त वनाई राख्ने आधार पनि हो । युवा सबैभन्दा बढी आम्दानी र उपभोग कर्ता पनि हुन । देश विकास गर्ने जनशक्ति भनेको जोश, जाँगर र नयाँ सोच बोकेका युवा नै हुन् । युवा भनेको अजय शक्ति हो, जुन शक्तिले नेपाल लगायत विश्वमा ठुला राजनैतिक परिवर्तनहरु सम्भव भएका छन् । अहिले नेपालमा युवाहरुको लक्ष्य र गन्तव्य भनेको नै विदेश जानु रहेको छ । यसो हुनुमा केवल युवाहरुमात्र जिम्मेवार छैनन । यसका पछाडि विगतदेखि वर्तमान सम्मका तपसिलका विषयवस्तुहरुमा केन्द्रित रही विश्लेषण गर्नु सान्दर्भिक हुन्छ ।

ऐतिहासिक प्रचलन
मानव जातिको इतिहासले देखाउछ कि रोजगार, सुविधा र अवसरको खोजीमा बसाइ सर्ने क्रम नौलो होइन । ‘पानी जति बग्यो उति सङ्लो हुने र मानिस जति हिँड्यो, डुल्यो, बसाइ स¥यो उति टाठा वाठा हुने’ प्रचलित भनाइ छ । हालको पाकिस्तानको लाहोर शहरमा नेपाली युवाहरु रोजगारमा जाने प्रचलनलाई लाहोर जाने भन्दाभन्दै अप्रभंश भै लाहुर र छिमेकी मित्रराष्ट्र भारतका विभिन्न सहरहरुमा रोजगारमा जाने चलनलाई लाहुर जाने भन्न थालियो । ‘बेला छँदै मेला, बैँस छँदै लाहुर’ भन्ने उक्तिले पनि युवा अवस्थामा विदेश जाने प्रचलनलाई उजागर गरेको देखिन्छ । अहिले विश्वव्यापीकरणले संसार सानो गाँउ भएको छ । विश्वका श्रम स्वीकृत प्राप्त धेरै मुलुकमा रोजगारमा जाने प्रचलन बढेको छ । वैदेशिक रोजगारी नेपालको मात्रै होइन, नेपाल जस्तै अन्य धेरै गरिब मुलुकहरुको पनि बाध्यता नै हो ।

वर्तमान सन्दर्भ
अहिले युवासमूहलाई के गर्दै हुनुहुन्छ भनेर सोधियो भने ‘बाहिर जाने प्रयास गर्दै छु’ भन्ने जवाफ आउँछ । वर्तमान अवस्थामा विशेष गरेर चार किसिमका युवा जनशक्ति विदेशिएका छन् । पहिलो–काम गर्ने अनुमति लिएर (खाडी मुलुक, दक्षिण कोरिया र जापान) दोस्रो– अध्ययनको सन्दर्भमा (अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत युरोपका सम्पन्न मुलुकहरु ) तेस्रो–अमेरिकाको डिभी चिट्ठा मार्फत र चौथो–श्रम स्वीकृति लिनु नपर्ने, खुला सिमाना, नजिक र रोजगारीको सुनिश्चितता भएकाले धेरै नेपाली युवाको सहज र आकर्षक गन्तव्य भारत बनेको छ । पहिलो र दोस्रो प्रकारबाट विदेश जानेहरुको सन्दर्भले बढी महत्व पाइरहेको छ ।

वैदेशिक रोजगार विभागको वार्षिक श्रम स्वीकृत विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा पुरुष ६,९९,१९३ र महिला ७२,१३४ गरी जम्मा ७,७१,३२७ नेपालीहरु श्रम स्वीकृत लिएर विदेश गएको अभिलेख छ ।

युवाहरुको मनोविज्ञान
जसरी बत्तीको उज्यालोमा पुतली झुम्मिन्छ, त्यसैगरि नेपाली युवाहरु पनि विदेशको मोहमा परिरहेका छन्, जसलाई सामाजिक विज्ञानमा Bright Light Syndrome भनिन्छ । अहिले अधिकांश युवाहरुको मनोविज्ञान नेपालमा बसेर केही हँुदैन, विदेश जानै पर्छ भन्ने धारणा बलियो बनेको छ । चरम निराशा देखिएको छ । श्रम स्वीकृत लिनेले विदेशमा गएर कमाउँछु, परिवार पाल्छु , फर्किएर सानातिना काम गर्छु भन्ने र अध्ययनको सन्दर्भमा अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपियन मुलुकहरु जानेहरूको उद्देश्य त्यतै कमाउने, रमाउने र स्थायी बसोबासको अनुमति प्राप्त गर्ने मात्र रहेको देखिन्छ । बनिबनाउ स्वर्गको कल्पना गरी विकसित मुलुकमा बसाइ सरेर जान युवावर्ग लालयित देखिन्छन । उच्च शिक्षाका लागि विदेश जानेहरूमा अधिकतर बिस वर्ष उमेर पुगेकाहरू हुने गरेका छन् । सुरक्षित, सभ्य, सुविधा सम्पन्न बसाइ र सन्तानको उज्ज्वल भविष्यको कल्पना गरी सपनाको तानावाना वुनाई नै अहिले धेरै युवाहरुको सोचाइ रहेको छ । युवाहरुमा नेपालमा केही छैन, विदेश नै अन्तिम विकल्प हो भन्ने खालको मनोविज्ञान देखिन्छ ।

युवा जनशक्ति विदेशिनुका कारणहरु
क) सरकार
सरकारले बजेटमार्फत व्यापार व्यवसाय गर्न चाहने युवाहरुलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने घोषणा गर्छ तर कार्यान्वयनमा आउँदैन । सरकारले समयमा पूँजीगत खर्च गर्न नसक्दा रोजगारी सिर्जना र लक्षित राजश्व समेत प्राप्त गर्न सकिरहेको छैन । स्थानीय तहले विदेश जान प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले विप्रेषण जम्मा हुने खातामा आकर्षक व्याज र वैदेशिक ऋणमा जोड दिइरहेका छन् । राजनैतिक दलहरुले फ्री टिकट फ्री भिसा जस्ता चुनावी नाराहरुले निर्वाचन जित्ने धृष्टता राख्छन् । युवा लक्षित पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको छैन । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएको छ । दण्डहिनताले प्रश्रय पाएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिहरूको ज्ञान, सीप तथा अनुभवलाई केन्द्रमा राखेर तीनै तहका सरकारले ल्याएका विशेष कृषि, पशुपालन, लघुउद्यम कार्यक्रमहरुमा पनि विशेष आकर्षण देखिएको छैन ।
शिक्षा नीति
English is just a language not knowledge तर अंग्रेजीलाई ज्ञानको रुपमा लिइयो । भाषाको रुपमा लिइएन । अंग्रेजी मोहले पनि युवाहरुलाई विदेशिन सहयोग पुगिरहेको छ । अधिकांश संस्थागत विद्यालयहरुका उत्पादनहरु त केवल प्राविधिक क्षेत्रमा मात्र योग्य देखिए । नेपालमा विक्न सक्ने खालका जनशक्ति तयार भएनन् । तसर्थ उनीहरुको विकल्प भनेकै विदेश जानु देखिन्छ । प्राविधिक र व्यावहारिक शिक्षा नीति नभएकाले हाम्रा विश्व विद्यालयहरु दक्ष जनशक्तिको सट्टामा वेरोजगारी, अदक्ष जनशक्ति उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । नेपाली युवाहरु विश्व श्रम बजारमा प्रतिस्पर्धामा खरो रुपमा उत्रिन सकिरहेका छैनन् तसर्थ वर्तमान शिक्षा प्रणालीमा नै समयसापेक्ष आमूल परिवर्तनको खाँचो देखिएको छ ।

ग) आर्थिक मन्दी
सन् २०१९ देखि विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरसको प्रभाव र रुष–युक्रेन युद्धले निम्ताएको संकटले आर्थिक मन्दीका संकेतहरु देखा परिरहेका छन् । वर्तमान सन्दर्भमा निजी क्षेत्रले आफ्नो उत्पादन घटाउँदा जनशक्ति पनि कटौती गरिरहेका छन् । जसका कारण युवाहरुले ठूलो संख्यामा रोजगार गुमाइरहेको अवस्था विद्यमान छ । व्यापार व्यवसाय घटिरहेको छ । संघीय राजधानी लगायतका मुख्यमुख्य सहर तथा बजारबाट पनि व्यावसायीहरु पलायन हुने क्रम बढ्दो छ । सवै क्षेत्रले सीमित जनशक्तिबाट काम चलाइ रहेका छन् । रोजगारदाताहरुबाट रोजगारी गुमाएका युवाहरु अन्य कुनै क्षेत्रमा पनि अवसर नपाएकाले विदेशलाई अन्तिम गन्तव्य बनाउन बाध्य बनेका छन् ।

घ) राजनैतिक कारण
राजनीति सबै नीतिहरुको मूल नीति हो । राजनैतिक दलका मेरुदण्ड भनेका युवाहरु हुन् । प्रत्येक राजनैतिक दलका भातृ संगठनमा युवाहरुको संगठन छ । युवाहरुलाई राजनैतिक दलहरुले निर्वाचनमा जित निकाल्न सुरक्षाकवचको रुपमा प्रयोग गरेको पाइन्छ । हरेक आन्दोलनको अग्रभागमा पहरेदारको रुपमा युवाहरु परिचालित हुन्छन् । तर नीति निर्माण तहमा युवाहरुको सहभागिता निकै कम हुने गरेको छ । सहभागी हुने अवसर पाएकाको पनि सार्थक र अर्थपूर्ण भूमिका गौण रहेको देखिन्छ । राजनैतिक दलहरुले युवाहरुलाई स्वदेशमा नै उत्पादनसँग जोडिने खालका कार्यक्रम, रोजगार तथा व्यवसायको माध्यमबाट टिकाउने खालका कार्यक्रमहरु प्रभावकारीरुपमा सञ्चालन गर्न नसकेकाले जीवनयापनको समस्याले पनि युवाहरु विदेशिनु वाध्यता रहेको छ ।

‘विदेशमा युवाहरुले देश चलाउँछन्, वृद्धले पेन्सन लिन्छन तर नेपालमा वृद्धले देश चलाउँछन्, युवाहरुलाई विदेश पठाउँछन्’ यो तथ्य तितो सत्य सावित भएको छ । युवाहरुमा परम्परागत राजनैतिक विचारधारा र दृष्टिकोण अँगालेका दलहरु र तिनका नेतृत्वप्रति व्यापक वितृष्णा देखिएको छ । वैकल्पिक राजनैतिक शक्तिको खोजीमा युवा देखा परेका छन् । जुन कुरा गतवर्ष सम्पन्न निर्वाचनले समेत पुष्टि गरिसकेको छ ।

ङ) देखासिकी र लहलहै
अध्ययनको सन्दर्भमा विदेश जानेहरुमा आफूभन्दा ठूलो मान्छे विदेशमा गएको छ भने उसैको देखासिकी गरेर र साथीभाइहरुको लहलहैमा पनि विदेश जाने मोह बढेको पाइन्छ ।

युवा जनशक्ति विदेश पलायनले देशमा पारेको प्रभाव
क) प्रतिभा पलायन
उचित अवसर र सुविधाको खोजीमा प्रतिभा सम्पन्न व्यक्तिहरु अन्य देशमा जाने काम अर्थात प्रतिभाको अपचलन नै प्रतिभा पलायन हो । उच्च बौद्धिक क्षमता भएका व्यक्तिहरूले जन्मभूमि छाडी अन्य देशमा आफ्ना दिमागी योग्यता खर्चिनु ब्रेन ड्रेन हो भने जाने राष्ट्रका लागि भने ब्रेन गेन (Brain gain) हो ।

हाम्रा युवाहरु अध्ययनको क्रममा सुविधा सम्पन्न मुलुकमा गई उतै डायस्पोरा भइरहेका छन् । यस्ता प्रतिभावान युवाहरुको पलायनले राष्ट्रलाई अपुरणीय क्षति भैरहेको छ । अहिले स्नातक पढाउने कलेज रित्तिएका छन्, कन्सल्टेन्सी र भाषा कक्षा पढाउने संस्थामा भिडभाँड छ । विश्वविद्यालय बेरोजगार उत्पादन केन्द्र जस्ता भएका छन् । स्नातक तहमा विद्यार्थीहरु नपाइने समस्या देखि भर्ना भएका पनि सेमेष्टर पुरा नगर्ने प्रवृत्तिले चार वर्षे पाठ्यक्रमलाई तीन वर्षे बनाउने विषयमा बहस सुरु भइसकेको छ । त्रिभुवन विश्वविद्यालयतर्फ हुने लाइन त्रिभुवन विमानस्थलतर्फ देखिएको छभन्दा पनि अत्युक्ति नहोला ।

ख) पुँजी र श्रम पलायन
हरेक वर्ष ठूलो संख्यामा देशका श्रमशील र मेधावी युवा विदेश पलायन हुनु भनेको बाढीले जमिनको माथिल्लो उर्वर माटो बगाएर लैजानु जस्तै हो । देशमा रहने भनेका पाका उमेरका मानिस मात्र हो । जसले काम गर्ने क्षमता राख्दैनन् बरु उनीहरुलाई साहारा आवश्यक परिरहेको हुन्छ । युवा विदेश पलायन हुँदा कृषि, निर्माण तथा अन्य विभिन्न कामका लागि भारतीय श्रमिकमा भर पर्नुपरेको छ । जसले गर्दा यहाँबाट ठूलोमात्रमा विप्रेषण भारत जाने गरेको छ । शैक्षिक प्रतिभाको पलायन सँगसँगै नेपालबाट प्रत्येक वर्ष ठूलो धनराशि विदेश पलायन भएको छ । स्थायीरुपमा बस्ने अनुमति पाएसंगै नेपालको घर, जग्गासमेत बेचेर रकम विदेश पठाउने कार्यले नेपालको पुँजी विदेश पलायन भैरहेको छ । अधिकांशले बैंक मार्फत आर्थिक कारोवार नगरी हुण्डीमार्फत गर्नाले अर्थतन्त्रमा असर परिरहेको छ ।

ग) विप्रेषणमा निर्भरताको जोखिम
खासगरी वैदेशिक रोजगारीमा गएका युवाको कमाइ विप्रेषण अहिले घरपरिवार धान्ने जीवन निर्वाहको मुख्य स्रोत बनेको छ । अधिकांशले घरघडेरी जोड्ने, अनुत्पादक र उपभोग्य क्षेत्रमा विप्रेषण खर्च गर्ने गरेको नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ । त्यतिमात्र होइन, हाम्रा बैंक तथा सिंगो देशको अर्थतन्त्र यसैबाट चलायमान भएको देखिन्छ । तर वैदेशिक रोजगारीले नेपाली समाजमा पारिवारिक विखण्डन तथा सम्बन्ध विच्छेद बढाएको छ । अहिले नेपालको अर्थतन्त्र विप्रेषणले धानेको छ । विप्रेषणले विदेशी मुद्रा सञ्चिति छ तर व्यापारघाटा उच्च छ । विप्रेषणले मात्र फड्को मारेको कुनै देश छैन । एउटा वस्तुमा मात्र भर पर्नु Dutch Disease खतरा हो । भोलि विप्रेषण तल माथि भएमा देशको आर्थिक अवस्था भयावह हुन सक्छ ।

घ) सामाजिक प्रभाव
सन्तानलाई जन्मायो, हुर्कायो, पढायो जब परिवार समाज र देशलाई उत्पादन दिने समय आउँछ, परिपक्व अवस्थामा विदेशमा जान्छन् अनि उतै उत्पादन दिन थाल्छन् । देशले जनसनंख्यिक लाभ लिन पाउँदैन । उनीहरुको ज्ञान, सिप, क्षमता, ऊर्जालाई अधिकतम उपयोग गरेर विदेशी मुलुकहरु सम्पन्न हुन्छन्, हामी जहाँको त्यही हुन्छौँ । घर, परिवार, समाज मात्र होइन देश युवाविहीन हुने खतरा बढ्दै छ । युवा विनाको समाज कल्पना पनि गर्न सकिदैन । वैदेशिक रोजगारीले मुलुकको सामाजिक क्षेत्रमा तत्काल सकारात्मक प्रभाव पारेको जस्तो देखिएता पनि दीर्घकालीन रूपमा यसका नकारात्मक असरहरू नै धेरै देखिएका छन् । वैदेशिक रोजगारीले सामाजिक विसङ्गतिदेखि आर्थिक परनिर्भरता समेतलाई बढावा दिई रहेको छ । देश वृद्धाश्रम त हुने होइन भन्ने चिन्ता र चासो बढेको छ । यी विषयहरु अहिले वहसमा आइरहेका छन् । युवाअवस्थामा विदेशमा रमाउने र बुढौलिमा आफ्नो मातृभूमि खोज्ने प्रवृत्ति पनि देखिन थालेको पाइन्छ । श्रम स्वीकृति लिएर रोजगारमा जाने युवाहरु अधिकांश खाडी मुलुकको प्रचण्ड धूपमा काम गरिरहेका छन् । जसको कारण बिरामी पर्नुका साथै अस्वाभाविक मृत्युले गर्दा परिवारलगायत समाज नै साहाराविहीन बन्दै गएको कहालिलाग्दो स्थिति सिर्जना भैरहेको छ ।

विदेशिने युवा जनशक्तिको पीडा
विदेशमा रहदा बस्दा युवाहरुले मानसिक तथा शारीरिक दुवै प्रकारका पीडावोध गरिरहेका छन् । अध्ययन भिसामार्फत विदेश जाने युवाहरु पनि सन्तुष्ट देखिएका छैनन् । नयाँ स्थान, परिवेश, संस्कृति ,परम्परा, नियम कानुन, व्यस्त जीवनशैली, कडा मिहिनेत र रोजगारीको समस्याले पिरलीरहेको हुन्छ । हरेक दिनको शुरुवात पैसावाट शुरुवात भै पैसावाट नै अन्त्य हुन्छ भन्दा अत्युक्ति नहोला । कल्पानको स्वर्ग भन्दा विदेशको वास्तविक संसार भिन्न हुनाले आशातीत सफलता नपाएपछि मानसिक तनावमा समेत परेका पाइन्छन् । मोबाइल, सवारीसाधन र घर किस्तामा उपलब्ध गराउने सरकारी नीतिले आजीवन कमाउने र किस्ता तिर्ने परिबन्दले फनफनी घुमाइरहेको हुन्छ । विदेशी विद्यार्थीहरुले आफ्नो देशबाट उनीहरुको देशमा सकेसम्म पैसा नलैजाउन भन्ने घुमाउरो नीति सरकारले अवलम्वन गरेको जस्तो लाग्छ ।

अर्कोतर्फ श्रम स्वीकृत लिएर जानेहरुले पनि आफ्नै प्रकारका पीडाहरुका कथा व्यथा अनुभूत गरिरहेका छन् । कम्पनीले आकर्षक तलब र राम्रो कामको प्रलोभनमा पारेर जोखिमयुक्त काममा लगाइरहेका हुन्छन् । श्रमको पनि उचित मूल्य पाउँदैनन् । सम्वन्धित देशको भाषा, सिप, नियम, कानुनहरुको अनभिज्ञताले गर्दा समस्यामा परिरहेका हुन्छन् । गैर कानुनीरुपमा प्रवेश गरेकाहरु त झन जोखिममा रहने नै भए । घरेलु महिला कामदारु यौन शोषणमा परेका कुराहरु पनि समय– समयमा आउँछन् ।

उपसंहार
अवसरका लागि एक ठाउँबाट अर्को ठाउँमा सर्ने मानवमात्रको विश्वव्यापी प्रचलन नै रहेको इतिहासले पुष्टी गर्छ । वर्तमान २१ औं शताब्दी, विश्व व्यापारीकरणको युगमा पनि विदेश जानु, उच्च शिक्षा हासिल गर्नु, सीप सिक्नु र वैदेशिक मुद्रा आर्जन गर्नु अपराध पक्कै होइन । नेपालमा थप सुखको लोभमा गाउँका मानिस शहर पस्ने, सहरका मानिस काठमाडौँ सर्ने अनि काठमाडौँबाट विदेश जाने गरेको देखिन्छ । स्वदेशमै केही गर्ने , केही कमाउने अवसर प्राप्त नभएकै कारणले गर्दा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानु नेपालीको रहर होइन वाध्यता हो । अध्ययनको लागि विदेश जानेहरु शिक्षित युवाहरुवाट वर्षेनी अरबौ रकम मात्र बाहिरिएको छैन उनिहरुले सदाका लागि देशै छोडिरहेका छन ।

विदेश जानु, उच्च शिक्षा हासिल गरी पुँजी र प्रविधिसहित अनिवार्य नेपालमा फर्कनुपर्छ भन्ने धाराणाको विकास हुनु जरुरी छ । त्यसका लागि सरकारले उचित नीति अवलम्वन गर्न ढिलाई गर्नुहुँदैन । कमाउदै पढ्दै जस्ता कार्यक्रमको माध्यमबाट शिक्षित युवाहरुलाई स्वदेशमा नै टिकाउने खालका कार्यक्रमहरु ल्याउनुपर्छ । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरिनु पर्छ । राज्यले श्रम निर्यातलाई होइन, वस्तु निर्यातलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा योजना तर्जुमा गरी प्रभावकारीरुपमा कार्यान्वयन गर्न सक्नुपर्छ । राज्यले विदेशमा काम गरेर हासिल गरेको ज्ञान, सिप र अनुभवलाई स्वदेशमै उपयोग गर्ने उद्यमशील एवं युवामैत्री लगानी वातावरण सिर्जना गरिदिनु पर्छ । निर्वाहमुखी कृषि पेशालाई व्यावसायीकरण गरिनुपर्छ ।

देशमा युवाहरुले सिकेको सिपलाई सदुपयोग गरेर छिमेकी मित्रराष्ट्र चीन अहिले विश्व अर्थतन्त्रको नेतृत्व गर्ने अवस्थामा पुगेको कुरा जगजाहेर छ । आधारभूत तहदेखिको पाठ्यक्रममा नै व्यावहारिक, प्राविधिक, सिपमूलक, आत्मनिर्भर र देश भक्ति सम्वन्धी ज्ञान दिने विषयवस्तु अनिवार्य समावेश गरिनुपर्दछ । सरकारले गैर आवासीय नेपाली संघसंस्थाहरुमार्फत विदेशमा कमाएको रकम नेपालमा भित्राई लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।

अन्त्यमाः ‘तीव्र गती जीवनको क्षति’ भनेझै युवा विदेशिने तिव्र गतीलाई क्रमशः कम गर्दै रोक्न सकिएन भने देशले अपूरणीय क्षति व्यहोर्नु पर्ने हुन्छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’, यो नेपालको राष्ट्रिय आदर्श वाक्य बनाउन सक्नुपर्छ र सवैको आदर्श वाक्य बनोस । (लेखकः नेपाल सरकारका अधिकृत हुनुहुन्छ ।)