कपिलवस्तुमा दम्पती मृत फेला

मेचीकाली संवाददाता

१९ बैशाख २०८१, बुधबार
98 shares

कपिलवस्तु। कपिलवस्तुमा श्रीमानश्रीमती मृत फेला परेका छन् । वाणगंगा नगरपालिका–८ ढोडेकोलका ६० वर्षिय टेकलाल भुसाल र उनकी श्रीमती ५५ वर्षिया जुठी भुसाल घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीका अनुसार बुधबार बिहान अबेरसम्म भुसाल दम्पतीले घरको ढोका नखोलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय पिपराको टोली गएर हेर्दा श्रीमान–श्रीमती दुवै मृत फेला परेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक ओलीले टेकलाल झुण्डिएको अवस्थामा फेला परेको र श्रीमती जुठी शरीरमा चोट लागेको अवस्थामा मृत भेटिएको बताए ।

‘छोराहरू घरमा नभएको र श्रीमानश्रीमती मात्रै घरमा बस्ने गरेका रहेछन्, बुधबार मृत फेला परेपछि शवलाई पोष्टमर्टमका लागि जिल्ला अस्पताल तौलिहवामा पठाएर थप अनुसन्धानको काम सुरू गरेका छौं,’ प्रहरी नायब उपरीक्षक ओलीले भने ।
घटनाको प्रकृति हेर्दा श्रीमान–श्रीमतीबीच झैझगडा भएर श्रीमतीको हत्या गरी श्रीमानले पनि आफैं आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता थाहा हुने ओलीले बताए ।

‘अहिले घटनास्थल र शवको मुचुल्का उठाएर पोष्टमर्टमको लागि अस्पताल पठाएका छौं, अनुसन्धान भर्खर सुरू गरिएकोले यसैगरी घटना भयो भन्न सक्ने अवस्था छैन, अनुसन्धानपछि मात्रै भन्न सकिएला,’ उनले भने ।