

बुठवल । लगातारको वर्षाका कारण रुपन्देही र नवलपरासीका विभिन्न ठाउँ डुवानमा परेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ ।

त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ । वर्षातका कारण तिनाउ, कपिलवस्तु वाणगंगा नदी आसपासको क्षेत्र पनि जोखिममा परेको छ भन्दै सतर्क रहन प्रहरी र स्थानीय तहले अपिल गरेका छन् ।

वर्षापछि आएको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, गोरुसिंगे सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ। पूर्व-पश्चिम राजमार्गको बुटवल बर्दघाट खण्डको घोडाहा पुल भासिनुको साथै निर्माणाधिन सडकमा रहेका ३ वटा डाईभर्सन बाढीले बगाएको छ।
सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक पनि पहिरो खसेर अवरुद्ध छ। उक्त सडकखण्डको गिट्टीखोला र राम्दीपुल नजिकै पहिरो खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।
