रोहिणीका अग्निपीडितलाई कपडा वितरण

मेचीकाली संवाददाता

२४ बैशाख २०८१, सोमबार
63 shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाका आगलागी पीडितहरुलाई लत्ताकपडा वितरण गरिएको छ । क्लोथ एण्ड फूड बैंक नेपालले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा सोमबार ८६ घरधुरीलाई कपडा वितरण गरेको संस्थाका अध्यक्ष कमल जिसीले जानकारी दिए । घरका प्रत्येक सदस्यहरुलाई दुइदुइ जोर कपडा पुग्ने गरी वितरण गीएको उनले बताए । कपडा बैंक मार्फत हालसम्म विभिन्न जिल्लाका ६६३ घर धुरीलाई लत्तनकपडा बितरण गरिएको उनले बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले आगलागीबाट ९८ वटा घरमा क्षति पुगेको बताए । उनका अनुसार ५२ वटा घरमा पूर्ण रुपमा क्षति भएको छ । उनले भने, ‘वडा नम्बर ४, ५ र ६ का ९ स्थानमा आगलागी भयो । आगलागी नियन्त्रणपश्चात तत्कालै स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर भोलिपल्ट नै आगलागी पीडितहरुलाई खाद्यान्न तथा नगद वितरण गरेका थियौं ।’ आगलागी पीडितहरुलाई स्थानीय सरकारबाट सक्दो राहत प्रदान गर्नुका साथै प्रदेश र संघीय सरकारसँग पहल भइरहेको अध्यक्ष यादवले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आगलागीबाट रुपन्देहीका ७ वटा पालिकामा १५५ देखि १७५ वटा घर पूर्ण रुपमा र २५० वटा घरमा आंशिक क्षति भएको बताए । रोहिणी गाउँपालिकामा आगलागीबाट धेरै क्षति पुगेको उनले बताए । उनले आगलागी भएपछि जिल्ला व्यवस्थापन समिति घटनास्थलमा पुगेर क्षतिको मूल्यांकन गरी पीडितलाई क्षतिको आधारमा ‘क’ र ‘ख’ वर्गमा विभाजन गरी सम्बन्धित पालिकाको सिफारिसमा १५ देखि २० हजार नगद प्रदान गरिएको जानकारी दिए । उनले आगलागीको घटना भएको ४८ घण्टाभित्र पूर्ण क्षति भएका घरमा नगद राहत वितरण गरिएको बताए । अबको ५ दिनभित्र आंशिक क्षति भएका घरमा राहत वितरण गरिने उनले बताए ।

रोहिणी–५ स्थित प्रहरी चौकी पिप्रहवामा भएको राहत वितरणमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट, रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादव, ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का अध्यक्ष इन्द्रमान चौधरी, वडा सदस्यहरु, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।