जूनतारा सहकारीद्वारा योग तथा ध्यान शिविर सम्पन्न

मेचीकाली संवाददाता

२८ बैशाख २०८१, शुक्रबार
41 shares

बुटवल । बुटवल–११ स्थित जूनतारा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ४ दिने निःशुल्क योग तथा ध्यान शिविर सम्पन्न भएको छ । यही वैशाख २३ गते आइतबारदेखि सुरु भएको शिविर बुधबार समापन गरिएको हो । तिलोत्तमा–३ स्थित द आर्ट अफ लिभिङमा सञ्चालित शिविरमा प्रशिक्षक लक्ष्मी श्रेष्ठ र सहायक प्रशिक्षक पूजा खनालले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा द आर्ट अफ लिभिङका सिनियर प्रशिक्षक विजय श्रेष्ठले योग र ध्यानले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने बताए । ‘योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ ।’ उनले भने । संस्थाले योग र ध्यानका कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आइरहेको बताउँदै उनले सबैजनालाई सहभागी हुन आग्रह गरे ।

संस्थाका अध्यक्ष तथा द आर्ट अफ लिभिङका जिल्ला समन्वय साितिका सदस्य यमप्रसाद पोखरेलले संस्थाले विभिन्न कार्यक्रम प्रशिक्षण तथा तालिमहरु सञ्चालन गर्दै आइरहेको जानकारी गराउँदै दैनिक जीवनशैली व्यवस्थापन तथा मानसिक स्वास्थ्य सेवा प्रवद्र्धनका लागि योग तथा ध्यान शिविर आयोजना गरिएको बताए । बुद्धिभन्दा मन हजारौँ गुणा शत्तिशाली हुने भएकाले मनलाई नियन्त्रण गर्न ध्यान बाहेक अर्को कुनै विकल्प नभएको उनको भनाइ थियो । द आर्ट अफ लिभिङका विभिन्न ठाउँमा रहेका सेन्टरबाट योग तथा ध्यान कार्यक्रमहरु सञ्चालन भइरहेको उनले बताए । तिलोत्तमास्थित सेन्टरमा प्रत्येक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योग र ध्यानका कार्यक्रम हुँदै आएकोले सम्भव भए नियमित आएर योग र ध्यान गर्न अध्यक्ष पोखरेलले आग्रह गरे ।

यस्तै संस्थाका संस्थापक अध्यक्ष चेतनारायण खनालले शिविरमा सिकेका कुराहरुलाई दैनिक व्यवहारमा लागू गर्न सहभागिहरुलाई आग्रह गरे । शेयर सदस्य तथा नवरत्न मावि तामनगरका प्राचार्य भविश्वर बञ्जाडेले पछिल्लो समय मानिस डिप्रेसन, एन्जाइटीको सिकार बन्दै गइरहेको अवस्थामा योग र ध्यान अति आवश्यक रहेको बताए ।

कार्यक्रममा योग गर्दा अपनाउनुपर्ने सावधानी, योगका नियम विषयमा प्रकाश पारिएको थियो । जसमा ध्यान, प्रणायामका विभिन्न विधिहरु, योगका विभिन्न आसनहरुका बारेमा सहभागीहरुलाई प्रयोगात्मक अभ्यासहरु गराइएको थियो । उक्त शिविरमा संस्थाका पदाधिकारी, संस्थापक अध्यक्ष, सञ्चालक सदस्य, लेखा सुपरिवेक्षण समितिका सदस्य, विभिन्न उपसमितिका सदस्यहरुसहित ५५ जना भन्दाबढीको सहभागिता रहेको थियो । शिक्षा उपसमितिका संयोजक जगदिश खनालको स्वागत तथा उपाध्यक्ष खुमानन्द ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।