रिब्दिकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन

मेचीकाली संवाददाता

२८ बैशाख २०८१, शुक्रबार
38 shares

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिकामा पनि कपडा बैंक सञ्चालनमा आएको छ । बिहिवार एक कार्यक्रमका बिच रिब्दीकोट गाउँपालीका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले संयुक्त रुपमा सुभारम्भ गरे । क्लोथ एण्ड फूड बैंक नेपालले रिब्दिकोट गाउँपालिकाको सहकार्यमा कपडा बैंक स्थापना गरेको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख कार्कीले कपडाविहीनलाई कपडा दिने र कपडाविहीन मुक्त गर्ने पुण्य कार्यमा जोडिन सबैलाई आग्रह गरे । कपडा बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न वर्गहरुलाई धेरै सहज हुने उनको विश्वास छ । समाज परिर्वतनका लागि युवाले सुरु गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु जोडिन पाउँदा खुसी व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष अधिकारीले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै घरमा भएका आफूलाई आवश्यक नपर्ने कपडा क्लोथ बैंकमा जम्मा गरिदिन सबैलाई आग्रह गरीन् । विपन्न तथा गरिव वर्गको हितका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उनले गरिबीका कारण शरीर ढाक्न समेत मुस्किल पर्ने समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कपडा बैंकलाई व्यवस्थित गराउन पालिकाले सघाउने प्रतिवद्धता जनाइन् ।

क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्न संघ–संस्थालाई यो अभियानमा सहकार्य गर्न उनले आव्हान गरे । ‘मानव सेवाका लागि पुरानो कपडालाई पुनः प्रयोग’ भन्ने मुल नाराका साथ नितान्त सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम सेवा लिन समेत उनले आग्रह गरे ।

प्रयोगमा नआएका पुराना लत्ता कपडा संकलनका लागि पालिकाका विभिन्न उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरुलाई पुनः प्रशोधन रि–साइकल गरि आवश्यकताका आधारमा मौसमअनुसार कपडा निःशुल्क वितरण गरिने अध्यक्ष जिसीले बताए । कपडा बैंकले विभिन्न पालिकामा आगलागीबाट पिडित ६६३ घर धुरीका सदस्यहरुलाई २÷२ जोरका दरले लत्ता कपडा निःशुल्क प्रदान गरेको उनले बताए । आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ देखि देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न बिद्यालयका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । क्लोथ बैंकका अध्यक्ष जिसीका अनुसार अहिलेसम्म १६० भन्दा बढी स्थानीय तह यो अभियानमा जोडिएका छन् । गएको फागुन ५ गते रुपन्देहीको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक शुभारम्भ भएको थियो ।