साधना महिला विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस

मेचीकाली संवाददाता

२८ बैशाख २०८१, शुक्रबार
47 shares

बुटवल। ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षा पूरा गरौं’ भन्ने नाराका साथ वि.सं.२०६३ मा स्थापना भएको साधना महिला विद्यालय, बुटवलले शुक्रबार आफ्नो १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयका अध्यक्ष मोतिलाल जैसीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले विद्यालयको लागि आवश्यक पर्ने सहयोगको लागि आफू साथमा रहेको प्रतिबद्धता जनाए । शिक्षाको पहुँचबाट टाढा भएका महिलाहरुलाई बढ्दो उमेरमा समेत अक्षर चिनाएर समाज रुपान्तरणको अभियानमा विद्यालय लागेको भन्दै मेयर पाण्डेयले विद्यालयको भौतिक विकासका लागि उपमहानगरपालिकाले सहयोग गर्ने बताए । शिक्षाबाट कोही पनि बञ्चित हुन नहुने मेयर पाण्डेयको भनाइ छ ।

सो अवसरमा बोल्दै विद्यालयकी प्राधानाध्यापक विष्णुकुमारी गौतमले अपुरो शिक्षा पूरा गर्नको लागि विद्यालय कोशेढुंगा बनेको बताइन् । २७ जना विद्यार्थीबाट सुरू भएको विद्यालयमा अहिले २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका संस्था, सहयोगदाताहरुको जोडबल र सहयोगले विद्यालय यो स्थानसम्म आइपुगेको प्रअ गौतमको भनाइ छ । विद्यालयबाट अहिलेसम्म २ हजार ८५० जनाले शिक्षा हासिल गरेको विद्यालयको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा बुटवल वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, अक्षयकोषदाता वामदेव क्षेत्री, बालाराम भट्टराई पूर्वविद्यार्थी देवु भट्टराई, शिक्षा शाखा अधिकृत यादव विष्ट, नहरपुर माविका प्रअ धश्विर गौतम, ज्ञनोदय माविका प्रअ टीकाराम पौडेल, पूर्वप्रअ बसुन्धरा भुसाल, तारा पाण्डेयलगायतले बोल्दै विद्यालयलाई अझै पनि सबैले सहयोगका हातहरु फैलाउन आवश्यक रहेको बताए । विद्यालयकी सहप्राचार्य तेजकुमारी लुइँटेलको स्वागत तथा शिक्षक विष्णु केसीको सञ्चालनका कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले विभिन्न नृत्यसमेत प्रस्तुत गरेका थिए ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल जैसी, सदस्य विष्णुप्रसाद चौधरी, खिमबहादुर सावद, वडा अध्यक्ष लोकनाथ न्यौपाने, संस्थापक सदस्य तारादेवी लम्साल, पार्वती सुनार र शिक्षक बिनिता थापा र करुना ज्ञवालीलाई सम्मान गरिएको थियो । विद्यालयका अहिले आफ्नै भवन छ । दर्जन शिक्षक÷कर्मचारी विद्यालयमा कार्यरत रहेका छन् ।