बैशाखको पानीले बुटवलमा वितण्डा, विभिन्न क्षेत्र डुबानमा (फोटोफिचर)

मेचीकाली संवाददाता

३० बैशाख २०८१, आईतवार
243 shares

बुटवल । शनिबार राति यस क्षेत्रमा परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वैशाखमै आएको ठूलो पानीले बुटवल बजार क्षेत्र बढी प्रभावित भयो ।

बुटवलको मुख्य बजार क्षेत्र अमरपथ क्षेत्रमा भेल पस्दा पसलमा रहेका लाखौं मूल्यका सामान कामै नलाग्ने गरी विग्रिएका छन् । बुटवल हाटबजार नजिक रहेको राष्ट्रिय समाचार समिति (रासस) को कार्यालय पूर्ण रुपमा डुवानमा परेको छ। कार्यालयमा रहेका महत्वपूर्ण कागजात, कपडाहरु नष्ट भएका छन्। राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले बाढीका कारण विस्थापित भएको बताए । अविरल वर्षाले रुपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय डुबानमा परेका छन् ।

यस्तै डुवान भएपछि न्यू होराइजन बोर्डिङ स्कुलले आइतबार बिदा दिएको छ । अन्य विद्यालयहरु पनि प्रभावित भएका छन् । सोह्रछत्तिस कुलोको छेलमा रहेको सो स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरु डुबेका छन् भने मैदानभर सबै लेदोले भरिएको छ ।

वडा नं ११ मा पर्ने सो क्षेत्रमा रहेको कुलो थुनिएर बाढी पसेको र अन्य घरहरु डुबान परेको स्थानीयले जनाएका छन् । बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले रातीदेखि परेको ठूलो पानीका कारण डुबानमा परेको र अधिकांश ठाउँमा अहिले कम भइसकेको बताए । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले वर्षातकै सुरुमै यस्तो समस्या नाली थुनिएरै भएकाले सचेत रहनुपर्ने बताए । अहिले यस क्षेत्रमा वर्षा रोकिएको छ ।

तस्विरहरु: अमृत गिरी