ज्ञानगंगा पाठशालामा नमुना मतदान अभ्यास

मेचीकाली संवाददाता

४ जेष्ठ २०८१, शुक्रबार
541 shares

बुटवल, जेठ ३ । रुपन्देहीको तिलोत्तमास्थित ज्ञानगंगा पाठशालामा शुक्रबार नमुना मतदान अभ्यास कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुमा व्यवहारिक ज्ञान प्रस्फुटन गराउने उद्देश्यले साप्ताहिक कार्यक्रमअन्तर्गत निर्वाचन कार्यक्रम आयोजना गरिएको हो ।

आम निर्वाचनको विधिलाई सामाजिक विषयसँग जोडेर यस कार्यक्रमलाई विद्यार्थीमाझ प्रयोग गरिएको विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपानेले बताए । निर्वाचन कार्यालय भैरहवासँग समन्वय गरी मतदान पेटिका तथा निर्वाचन आयोगसंग परामर्श गरी प्रत्यक्ष निर्वाचनमा आवश्यक पर्ने सामग्री ल्याएर कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्राचार्य चन्द्र अधिकारीले बताए ।

विद्यालयमा निर्वाचन कार्यक्रममा कक्षा ५ देखि कक्षा १० सम्मका करिब ३५० जना विद्यार्थीहरू मतदान कार्यक्रममा सहभागी भएका विद्यालयका सहप्राचार्य केशवराज पन्तले बताए। निर्वाचन कार्यक्रममा स्कुल क्याप्टेन, सह क्याप्टेन, बाल क्लब अध्यक्ष, बाल क्लब उपाध्यक्ष सचिव तथा कोषाध्यक्ष पदमा २६ जना उमेदवार रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोकाले बताए ।

कार्यक्रममा निर्वाचन अधिकृतको भूमिका शिक्षकहरू अनिष पौडेल, ऋषभ भण्डारी र निर्मला थापाले गरेका थिए। कार्यक्रममा स्वयमसेवी तथा प्रहरीको व्यवस्थापन निमावि. संयोजक कमल थापाले गरेका थिए । विजयी विद्यार्थीले पदीय भूमिकामा रचनात्मक काम गर्ने तथा विजयी पदाधिकारीलाई एक कार्यक्रमसँगै बधाई दिइएको थियो।

त्यसैगरी कक्षा १ देखि ४ कक्षासम्मका विद्यार्थीहरुलाई चित्रकला प्रतिस्पर्धा गराइएको थियो। विजयी हुने विद्यार्थीहरूलाई खादा तथा मायाको चिनो प्रदान गरिएको शिक्षक कुलचन्द्र पुरीले बताए ।