गार्गी एकेडेमीमा बृहत रक्तदान

मेचीकाली संवाददाता

११ भाद्र २०७८, शुक्रबार
896 shares

बुटवल, भदौ ११ । बुटवल–११ देविनगरस्थित गार्गी एकेडेमीमा शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पटक रक्तदान कार्यक्रम गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाले रक्तदानले रक्तदाता मेनुका कार्की र गणेश श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरू गरेका थिए ।

सो अवसरमा १ सय ११ युनिट रगत संकलन भएको विद्यालयका प्राचार्य भुवन अधिकारीले जानकारी दिए । आगामी दिनहरूमा पनि विद्यालयले विभिन्न सामाजिक कार्य गर्दै जाने प्राचार्य अधिकारीले बताए । सो अवसरमा शिक्षक, कर्मचारी, विद्यालय सञ्चालक, अभिभावक र भूपू विद्यार्थीले रक्तदान गरेको कार्यक्रम संयोजक भगवती अर्यालले जानकारी दिइन् । स्थापनाको छोटो समयमा संस्थागत विद्यालयतर्फ गार्गी नमूनाको विद्यालयको रूपमा अगाडि आएको छ । विद्यालयमा अहिले १ हजार ४०० विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा विद्यालयका सञ्चालक समिति सदस्य लोकराज शर्मा, शिक्षा उपसमिति संयोजक टेकराज न्यौपाने, भूपू विद्यार्थी समिर खत्री, कार्यक्रम संयोजक भगवती अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षता, प्राचार्य भुवन अधिकारीको स्वागत तथा कार्यक्रम संयोजक भगवती अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।