गार्गी एकेडेमीमा नमूना मतदान सम्पन्न

मेचीकाली संवाददाता

९ जेष्ठ २०८१, बुधबार
303 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा बुधबार नमूना मतदान सम्पन्न भएको छ । निर्वाचन प्रक्रियाबाट बाल क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदको लागि विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका ६०५ जना विद्यार्थीहरुले मतदान गरेका थिए । विद्यालय तहबाट विद्यार्थीहरुलाई प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचन प्रक्रियाबारे जानकारी दिने उद्देश्यले गार्गी बाल क्लबको निर्वाचन सम्पन्न गरिएको विद्यालयका प्राचार्य भुवन अधिकारीले जानकारी दिए ।

निर्वाचन प्रक्रियामा अपनाउनुपर्ने सम्पूर्ण चरणहरु अबलम्बन गरिएको प्रमुख निर्वाचन आयुक्त राजु शर्माले जानकारी दिए । जेठ १ गते उम्मेदवार मनोनयन दर्ता गरिएको, जेठ २ गते मतदाता नामावली प्रकाशन, जेठ ३ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरी प्रचार प्रसार सुरु भई जेठ ७ गतेबाट मौन अवधि भएको निर्वाचन अधिकृत अर्जुन पाण्डेले जानकारी दिए ।
उम्मेदवारहरुले एक वर्षको अवधिमा विद्यार्थीहरुको हकहितको लागि गर्न सक्ने, नयाँ क्रियाकलापहरु समावेश गरी घोषणापत्र समेत प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्र अधिकारीले विद्यालय तहबाट यस्ता किसिमका प्रजातान्त्रिक परिपार्टीबाट विद्यार्थीलाई निर्वाचन प्रक्रियाको विधि र प्रक्रिया जानकारी हुदा धेरै फाइदा हुने बताए ।

विद्यालयका प्राचार्य अधिकारीले विद्यार्थीहरुलाई सैदान्तिक ज्ञानको साथै व्यवहारिक ज्ञान गरिएको र निर्वाचनको समग्र प्रक्रिया निर्वाचन कोशेढुंगा सावित भएको बताए । निर्वाचन प्रक्रियामा परिवेक्षकको रुपमा अतिरिक्त क्रियाकलाप प्रमुख भीमबहादुर चौधरी, सुपरीवेक्षकको रुपमा अतिरिक्त क्रियाकलाप सहसंयोजक सन्दिप बेल्वासेले भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको व्यवस्थापन शैक्षिक संयोजकद्धय समिर अधिकारी र विष्णु सुवेदीले गरेका थिए । विद्यालयमा २ हजार ३३५ विद्यार्थी अध्ययनरत रहेका छन् ।