कालीगण्डकीमा प्रदेशस्तरिय बुद्धिचाल प्रतियोगिता हुने

मेचीकाली संवाददाता

१० जेष्ठ २०८१, बिहीबार
241 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा बुद्धिचाल प्रतियोगिता हुने भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद् परिषदको आयोजनामा यही जेठ १२ र १३ गते बुद्धिचाल प्रतियोगिता सञ्चालन गरिने आज बिहीबार वालिङमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पूर्वाधार एव विकाससँगै खेलकुदलाई पनि सँगै लैजानुपर्छ भनेर पालिकाले यस्ता प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताए ।

नेपालको इतिहासमा जल यातायातको सूरुवात कालीगण्डकीमा भएको हो । कालीगण्डकीको प्रचार प्रसारसँगै यहाँ सञ्चालित स्टिमरमा बुद्धिचाल प्रतियोगिताको उदघाटन गरिने अध्यक्ष थापाले जानकारी दिए । पानीमाथि पनि प्रतियोगिता गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि प्रतियोगिताको उद्घाटन स्टिमरमा गर्न लागिएको उनले उल्लेख गरे ।

यसकासाथै आगामी दिनमा गाउँपालिकाले गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालनको योजना रहेको अध्यक्ष थापाले बताए । पत्रकार सम्मेलनमा गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले कार्यक्रमको प्रकाश पारेका थिए ।

पछिल्लो समय लोकप्रिय बन्दै गएको बुद्धिचाल खेल कालीगण्डकी गाउँपालिकामा आयोजना गरी खेलाडी उत्पादन गर्ने र खेल पर्यटनको विकास गर्ने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । कालीगण्डकीले पूर्वाधार विकाससँगै खेलकुदको क्षेत्रमा पनि वजेट विनियोजन गरेर नयाँ खेलको आकर्षण बढाउने, राष्ट्रिय खेलाडी उत्पादन र खेलकुदको विधा मार्फत कार्य कौशलता प्रदर्शन गर्न सफलता मिलोस भन्ने उदेश्य रहेको बताए ।

प्रतियोगितामा कालीगण्डकी र गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ४८ जना खेलाडीबीच प्रतिस्पर्धा रहने छ ।

गाउँपालिकाको ३ लाख र गण्डकी प्रदेश खेलकुद परिषदको ३ लाख गरी कूल ६ लाख खर्चमा प्रतियोगिता सम्पन्न गरिने छ । आयोजकका अनुसार यहाँ प्रथम, द्वितीय र तृतीय हुनेलाई उचित पुरस्कारसहित एकवर्षभित्र देशभरमा हुने प्रतियोगितात्मक कार्यक्रमहरुमा जाने आउने सुविधासहित प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उदेश्य रहेको बताए ।