बडघरलाई नेतृत्व तथा क्षमता विकास तालिम सुरु

मेचीकाली संवाददाता

११ जेष्ठ २०८१, शुक्रबार
158 shares

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा थारु संस्कृति जोगाउँदै समुदायमा मेलमिलाप र अपराधका घटना निरुत्साहन गर्न अगुवा (बडघर) हरुलाई नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । समुदायमा हुन सक्ने सम्भावित घटना र त्यसलाई सहजीकरण गर्ने कानुनी पाटोको विषयमा अगुवाहरूलाई जानकारी दिने उद्देश्यले शुद्धोधन–४ फर्साटिकरमा बिहीबारदेखि तालिम सुरु भएको हो ।

लुम्बिनी प्रदेश सरकार मातहतको पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा सञ्चालित तालिम ५ दिनसम्म चल्नेछ । कार्यालयले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बडघरहरुलाई विभिन्न चरणमा उक्त तालिम प्रदान गरिरहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्यले जानकारी दिइन् । थारु समुदायको बडघर प्रथाको संरक्षणसहित उनीहरूलाई प्रचलित कानुनका बारेमा समेत जानकारी होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरेको उनले बताइन् । ‘कानुनको पूर्ण ज्ञानको अभावमा ग्रामीण क्षेत्रका नागरिक न्यायिक पहुँचमा पुग्न नसकेको अवस्थामा यो तालिमले थप सहज होस भन्ने हाम्रो उद्देश्य हो ।’ आचार्यले भनिन् ।

यस्तै थारु आयोगका सदस्य डा.उमाशंकर चौधरीले बडघरहरुको क्षमता विकास तालिमले थारु समुदायको संस्कृतिको रुपमा रहेको बडघर प्रथाको समेत संरक्षणमा टेवा पुग्ने बताए । उनले पुर्खाको समयमा नेपालमा आधुनिक कानुनको विकास नहुँदा थारु समुदायका पुस्ताहरूले बडघरमार्फत न्यायिक निरुपण गराउने र थारु समुदायमा मात्रै नभै नेपालको इतिहासमा घरायसी मुद्दा हरुमा बडघरले महत्वपूर्ण भूमिका खेलेको बताए । तर अहिले यो बडघर प्रथा लोपोन्मुख अवस्थामा रहेकाले राज्य यसको संरक्षणमा चुकेको चौधरीको गुनासो छ ।

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद बस्यालले बडघरहरुको निर्णय सबैले मान्ने हुँदा तालिमपछि मेलमिलापबाट समुदायका समस्या समाधान हुने बताए । थारु समुदायमा बाल विवाह, पढाइ छाड्ने समस्या बढ्दै गएको हुँदा त्यसलाई निरुत्साहन गर्न बरघरले जोड दिनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा गाउँपालिकाका पवक्ता तथा नडा नम्बर ४ का अध्यक्ष केशवप्रसाद अधिकारी, थारु लोककल्याणकारी सभा केन्द्रीय पार्सद नरसिङ चौधरी, थारु लोककल्याणकारी सभा रुपन्देहीका सभापति कमल नारायण चौधरीलगायतले आआफ्नो भनाइ राखेका थिए ।

तालिममा समाजमा घट्ने फौजदारी एवम् देवानीसम्बन्धी कानुनका बारेमा जानकारी गराइनेछ । बडघर प्रथा सँगै थारु समुदायको कला संस्कृति र भेषभुषा हराउँदै गएकोमा सरोकारवालाहरुले भने चिन्ता व्यक्त गरेका छन् । रुपन्देही र नवलपरासीमा बडघर प्रथाको स्थान टोल विकास समितिहरूले लिएकाले यो प्रथा नरहेको र कपिलवस्तुमा भने अझै पनि बडघरहरु रहेको पर्यटन डिभिजन कार्यालयले जनाएको छ ।

तालिममा जिल्लाका बिभिन्न पालिकाका ४० जनाको सहभागीता रहेको छ । पर्यटन डिभिजन कार्यालय रुपन्देहीका लेखा अधिकृत विनोदकुमार पौडेलको स्वागत तथा कार्यालयका अधिकृत जनकराज खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।