ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पुन: खनाल

मेचीकाली संवाददाता

२६ जेष्ठ २०८१, शनिबार
172 shares

बुटवल। ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन, साधारणसभा तथा सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ।

अधिवेशनको भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासेले उद्घाटन गरे । सोही अवसरमा बोल्दै बेलवासेले समाजले गरेका कामको प्रसंशा गर्दै आफ्नो पुख्र्यौली थलोलाई नबिर्सन आग्रह गरे। उनले समाजका आगामी कार्यमा आफूहरुले निरन्तर सहयोग गर्ने वचन दिए।

कार्यक्रममा संस्थाका सल्लाहकार, छिमेकी गाविसका सम्पर्क समाजका अध्यक्ष लगायतले शुभकामना मन्त्वय राखेका थिए। समाजले सोही अवसरमा समाजका आजीवन सदस्य, विभिन्न समयमा समाजलाई आर्थिक, नैतिक रुपमा सहयोग गर्ने सय जनाभन्दा बढिलाई सम्मान समेत गरेको थियो ।

अधिवेशन तथा साधारणसभामा समाजका अध्यक्ष कृष्णप्रसाद खनालले प्रगति प्रतिवेदन तथा समाजका कार्यवाहक कोषाध्यक्ष शिवलाल खनालले आर्थिक वर्ष २०८०/८१ को आयव्यय तथा आगामी बर्षको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए।

अधिवेशन तथा साधारणसभाबाट संस्थाको कार्यसमितिले गरेका बिभिन्न निर्णयहरु अनुमोदन गरिएको छ ।

यसैबिच अधिवेशनले पुनः कृष्णप्रसाद खनाल अध्यक्ष रहेको २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा ज्ञानप्रसाद खनाल, युवराज खनाल, सचिवमा बाबु भुसाल, सह–सचिवमा टेकराज भुसाल, कोषाध्यक्षमा सावित्रा खनाल, सहकोषाध्यक्षमा शिवलाल खनाल रहेका छन् ।

यस्तै सदस्यहरुमा क्रमशः जुना खनाल, रेश्मा खनाल, एनिसा बन्जाडे, शान्ता खनाल, दुर्गा खनाल, केशव भुसाल, बेद प्रसाद भुसाल, मेघराज खनाल, लेखनाथ खनाल, राम बहादुर अधिकारी, रामप्रसाद चुदाली, नरेन्द्र भुसाल, मोतिराम भुसाल, जिवलाल खनाल निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा राजु खनाल र सदस्यहरुमा बसन्ता भुसाल र प्रेम खनाल चयन भएका छन् ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ (साविक ढाकावाङ्ग गाविस) बाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसोबास गर्नेहरुका बीच २०८० जेठ १३ गते ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाज स्थापना भएको थियो ।

संस्था गठन भएको १ वर्षैमा संस्थालाई कानुनी रुपमा आधिकारिकता दिई रुपन्देहीमा बस्ने सम्पूर्ण ढाकावाङ्ग वासीहरुको आपसी सम्बन्ध,समाजमा भैपरी आउने विभिन्न खालका सामाजिक समस्या, ढाकावाङ्गसँग सम्बन्धित कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्दै ढाकावाङ्ग वासीहरुको साझा चौतारीको रुपमा विकास गरेर संस्थासँग जोडिएका हरेक सदस्यहरुको सुखदुःखमा सहयोगी र पारिवारिक सदस्य जस्तै भएर समाज अगाडि बढेको नवनिर्वाचित अध्यक्ष खनालले बताए।

खनालले संस्थामा आजीवन र साधारण सदस्य २ सय भन्दा बढि रहेको र आगामी दिनमा सदस्य थप्ने समेत बताए। कार्यक्रम कार्यवाहक सचिव टेकराज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।