कपिलवस्तुका बिभिन्न ठाउँ डुबानमा

मेचीकाली संवाददाता

११ भाद्र २०७८, शुक्रबार
637 shares

पार्बती आचार्य
कपिलवस्तु । बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण कपिलवस्तुका बिभिन्न ठाउँ डुबानमा परेका छन् । जिल्लाको बाणगंगा नगरपालिकाका नगरपालिका भित्रका करिब १ हजार बढी घर डुबानमा परेका छन् । बाणगंगा नगरपालिका १० मेचकुरीमा बंगुरका २० वटा पठाहरु मरेको र १२ हजार माछाका भुराहरुको क्षती भएको छ । कपिलवस्तु नगरपालिकाको पचेहरामा १० वटा कच्ची घरहरु भत्कीएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

यस्तै बाणगंगा ४ गजेहडामा ९ सय कुखुराका चल्ला, सोही एरियामा २ सय २५ वटा कुखुरा, कोपवामा ९ सय कुखुराको चल्लाको पानीले बगाएर क्षेती भएको छ । ओदारी स्थित चन्द्र सुर्य खाद्य उद्योगमा चामल, गहुँ र भुस लगाएतको धेरै क्षेती भएको छ । यस्तै ४ नं. जितपुरमा प्लाईउडको लाखौको क्षेती भएको जानकारी प्राप्त भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । पानीको डुवानमा परेर भाडाकुडा, लत्ता कपडाहरुको धेरै क्षेती भएको छ तर त्यसको पुरा बिवरण भने अझै आउन नसकेको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

बाणागंगा नगरपालिकामा वडा नं. ९ बहेक सबै वडाहरु र कपिलवस्तु नगरपालिकाको वडा नं. १० र ११ को बनगाई गाउँ डुबानमा परेको छ । पिपरा, बैरिया, सुपा देउराली मन्दिर, कलोनी, लखनपारा, भझौली, भवनी, गंगोलिया राजापानी, ओदारी, ठाकुरापुर , झुगा, जितपुर लगाएतका भुभाग डुबानमा परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुङले बताए ।

बाणगंगाको ओदारी बजार र देउवापार, मैरी समेत डुबानमा परेको छ । यस्तै वडा नं. ८ को बोर्डगाउँ र बालापुरका केही स्थान डुबानमा परेको छ । उता कपिलवस्तु नगरपालिका ११ स्थित बनगाई गाउँमा एक दर्जन घरमा क्षति पुगेको वडाध्यक्ष राम गोपाल यादवले बताए । उक्त घरको पर्खालहरु भत्केर घरमा रहेका खाद्यान्न, लत्ताकपडाहरू पानीले भिजेर सबै काम नलाग्ने भएको छ ।

अबिरल बर्षाका कारण डुबानमा परेपछि १५ जनालाई बिहीबार राती उद्धार गरिएको प्रहरी निरीक्षक गुरुङले बताए । पिपराको कलौनिबाट ४ जना, वडा ३ गंगौलियाबाट ४ जना, झुगाबाट ५ जना र २ जनालाई जितपुरबाट उद्धार गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराको क्षेत्र अन्तर्गतमा करिव १ हजार ४ सय ७० घरधुरी डुवानमा परेका छन् । बाणगंगा नगरपालिकाको वडा न. ९ बाहेक सम्पुर्ण वडाहरु डुवानमा परेका छन् भने कपिलबस्तु नगरपालिकाको वडा नं. १० र ११ का घरहरुमा पानी पसेर डुवान भए पनि मानवीय क्षेती भएको छैन ।

अबिरल वर्षाले जिल्लामा सामान्य क्षति गरे पनि ठुलो क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले बताए । यशोधरा गाउँपालिका वडा नं. ८ को खोरियागाउँमा जनता तटबन्ध कार्यक्रम बुटवल मार्फत अस्थायी प्रवृतिको नदी कटान नियन्त्रणको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।