बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल फर्कँदै गरेको कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । लु २ च ८५३१ नम्बरको कार बुधबार राति साढे ८ बजेतिर अनियन्त्रित भई सडकबाट खसेको हो ।
दुर्घटनामा स्याङ्जाको पुतलीबजार घर भई बुटवल–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त कार क्षतिग्रस्त भएको छ ।
दुर्घटनामा गम्भीर घाइते हभएका उनिहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटना दुई जना घाइते भएका छन् । बुटवल–९ मिलनचोककी ५६ वर्षीया चन्दा श्रेष्ठ र बुटवल–११ होराइजन चोककी ४६ वर्षीया लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । उनिहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।
पर्यटकीय क्षेत्र नुवाकोटबाट जितगढी झर्ने ओरालो सडकको घुम्तीबाट कार एक सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
उनिहरु बुधबार नै नुवाकोट घुम्न गएको र फर्कने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनाको कारणबारे खुलिसकेको छैन। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।