पुराना सहपाठी जुटेर छुट्टिने बेलाको त्यो दर्दनाक दुर्घटना…

मेचीकाली संवाददाता

१ असार २०८१, शुक्रबार
216 shares

प्रकाश आचार्य

बुटवल। रूपन्देहीको बुटवलस्थित उजिरसिंह माविबाट वि.सं. २०४५/०४६ मा एसएलसी दिएका ७० जना विद्यार्थीमध्ये ३० जना अहिले पनि निरन्तर सम्पर्कमा छन् । उनीहरूले पूर्वविद्यार्थी सञ्जाल नै गठन गरेका छन् । पूर्वविद्यार्थी सञ्जालको संयोजक लंक बस्नेत छन् ।

त्योबेला एसएलसीमा सहभागी पूर्वविद्यार्थीहरू ‘म्यासेन्जर ग्रुप’ मा पनि जोडिएका छन् । उनीहरूले विगत ८/१० वर्षदेखि एक/दुई दिन भेला भएर जमघट र ‘गेट टुगेदर’ गर्दै आएका छन् । बुधबार पनि उनीहरू जम्मा हुने कार्यक्रम बन्यो । उनीहरूबिच सोही ब्याजका साथी योग गुरुङको दिदीको बुटवल उपमहानगरपालिका–१३ बेलबास बदेलपोखरीस्थित ज्ञावत रेष्टुरेन्टमा दिउँसो साढे ३ बजे भेट्ने योजना बन्यो ।

दिउँसो साढे ३ बजे भेला भएका उनीहरू साँझ साढे ६ बजेसम्म बसे । रमाइलो गरे । साँझ परेपछि २५ जना फर्केर आ–आफ्नो घरतिर लागे । साथीहरूको भेलामा सहभागी विमलराज भट्टराईका अनुसार छुटिने बेलामा रामप्रसाद शर्मा (छवि) ले सिल्फी खिच्दै भने, ‘कोही नछुटौं हैं, यो फोटो भोलि मिडियामा आउने फोटो हो ।’ उनले त्यो फोटो भने अपलोड गर्न नपाउँदै अस्ताए ।

छविसहित पाँच जना साथी जमघट भएको रेष्टुरेन्ट माथिको भ्यू टावर टावर हुँदै पाल्पाको नुवाकोटतर्फ जाने भन्ने सल्लाह भयो । भेलामा सहभागी आशा श्रेष्ठले लगेको गाडी उनका भतिजले लगेपछि उनी पनि छविकै गाडीमा एकछिन नुवाकोट घुमेर फर्किने भनेर लागिन् । छवि आफ्नो लु २ च ८५३१ नम्बरको कारमा आशा श्रेष्ठ, भगवती श्रेष्ठ, रश्मी श्रेष्ठ र चन्दा श्रेष्ठलाई लिएर नुवाकोटतर्फ लागे । नुवाकोटको बिचमा पर्ने भ्यू टावरमा फोटो खिचेर उनीहरू नुवाकोट डाँडामा पुगे ।

जहाँबाट बुटवलको भ्यू हेर्न सकिन्छ । बुटवलबाट नुवाकोट जाने अहिले बनेको सिद्धार्थ केबलकार सञ्चालनको तयारीमा छ । बुटवलको गर्मी छल्न त्यहाँ मानिसहरू धेरै पुग्ने गर्छ । त्यहाँ केही समय बिताएपछि उनीहरू साढे ८ बजेतिर फर्किए । फर्किंदै गर्दा ओरालो बाटोमा छविले चलाएको गाडी दुर्घटना भयो ।

गाडी सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । ‘गेट टुगेदर’मा सहभागी भट्टराई सम्झन्छन्,‘फर्किंदै गर्दा गाडी सडकबाट खसेर नसोचेको घटना भएछ । हामी विगत १० वर्षदेखि यसैगरी ‘ग्यादरिङ’ गर्दै आएका थियौं । भेटघाटपछि हामी फर्कियौं । उहाँहरू माथि घुमेर फर्किंदा वीभत्स घटना भएछ ।’

आशाले जानुअघि ‘मेरो गाडी पुरानो छ, एजाज आलमको गाडीमा माथि पुगेर आउनुपर्छ,’ भनेकी थिइन् । तर, एजाज आलम भैरहवामा ‘मिटिङ’ छ भनेर निस्किए । आलम सम्झन्छन्, ‘आशाले मेरो गाडीमा माथि जाने भन्नुभएको थियो । कामले म चाँडो भैरहवा निस्किएपछि दुर्घटना भएछ । छविजीले अन्तिम सेल्फी हो हैं भन्नुभएको थियो । नभन्दै अन्तिम नैं हुन पुग्यो । दुर्घटनापछि भीरबाट निकाल्न ढिलाई हुँदा पनि छविजीको मृत्यु भएको हुनसक्छ ।’

नुवाकोट जाने बाटो ठाडो उकालो छ । फर्किंदा गाडी नियन्त्रण गर्न गाह्रो हुने गरेको त्यहाँ पुग्नेहरू बताउँछन् । सावधानी र ट्राफिक संकेत पनि त्यहाँ छैन । त्यो चुरे भीरको बाटो हो । नुवाकोट प्रवेश गर्ने र झर्ने दुबै ठाउँको विन्दुमा मापसेलगायतको गाडीको अवस्थाका बारेमा समेत चेक पोइन्ट राखेर आवश्यक सतर्कता अपनाउन जरुरी रहेको दुर्घटना न्यूनीकरण अभियानका अभियन्ताहरुको भनाइ छ ।

बुटवल उपमहानरपालिका–१० सत्यसाइ पथमा आफ्नै घरमा परिवारसहित बस्दै आएका ५६ वर्षीय छवि यसक्षेत्रका सफल व्यवस्थापक मानिन्थे । उनका पत्नी, दुई छोरा र एक छोरी रहेका छन् । घटनाका बारेमा सूचना फैलिएदेखि नै पत्नी विछिप्त छिन् । लामो समय यसोदा फुड्स नामको कम्पनीका विभिन्न उत्पादनहरुको व्यवस्थापनमा सक्रिय थिए । उनी बजारीकरणको क्षेत्रमा झण्डै तीन दशकदेखि सक्रिय रहेको उनका समकक्षी कमल थापाको स्मरण छ । थापाले शर्मालाई तराई–पहाडका सबैजसो बजारका जानकार व्यवस्थापकका रुपमा लिन्छन् । विभिन्न सामाजिक र व्यावसायिक संस्थामा सक्रिय शर्मा उद्योगबाट उत्पादित उत्पादनको बजारीकरणमा अब्बल व्यवस्थापक मानिन्थे । उनको निधनमा धेरैले दुःख व्यक्त गरेका छन् । आशा र भगवती दुवै बैंकका पूर्वजागिरे थिए ।

दुर्घटनामा मृत्यु हुने तिलोत्तमा नगरपालिका–३ की ५७ वर्षीया आशा र सोही ठाउँकी ५० वर्षीया भगवती हुन् । दुर्घटनामा रस्मी र चन्दा घाइते भएका छन् । उनीहरूको भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको छ । घाइते चन्दा बुटवल–९ र लक्ष्मीता श्रेष्ठ बुटवल–११ की हुन् । उनको अवस्था केही गम्भीर रहेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले ओरालोमा गाडी अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको डीएसपी पण्डितको भनाइ छ । मृतक भगवतीको बिहीबार नैं बुटवलको मगरघाटमा अन्त्योष्टि गरिएको छ भने आशा र छबिका छोरी विदेशबाट आउने भएपछि शुक्रबार दाहसंस्कार गरिने भएको भट्टराईले जानकारी दिए ।

उद्धारको हारगुहार गरिरहे तर…
कार दुर्घटनामा परेका सफल व्यवसायी तथा म्यानेजर शर्मा सबैका प्रिय थिए । उनले आफैले कार चलाएका थिए । माथि नुवाकोटबाट फर्किने क्रममा अफ्ठेरो मोडमै एकतिर बाटो भासिएको छ । त्यहीँ भासिएको जोखिमपूर्ण घुम्तीमा उनको गाडी एक्कासी तल बज्रिनेगरी खसेको अनुमान छ ।

उनलाई रक्ताम्ये अवस्थामा बोलिरहेकै समयमा फेला पार्नेहरुमध्ये केहीले मोबाइलमा भिडियो बनाएका रहेछन् । त्यो भिडियोमा उनले ए बाबु, बाबु मलाई उठाऊ न, मलाई उठाऊ बाबु, यो एउटा हात भाँचिएको छ, खुट्टा पनि भाँचिएको छ, ए, गाडी दुर्घटना भएको हो ?’ भन्दै बोलेको प्रष्ट सुनिन्छ ।

तर, भिडियो खिच्नेले अहिले जहाँ जस्तो अवस्थामा हुनुहुन्छ त्यहीँ बस्नुस् पछि स्ट्रेचर ल्याएपछि उठाउँला भनेको सुनिन्छ । दुर्घटना भएको झण्डै डेढ घण्टापछि उनीहरुको उद्धार भएको बताइन्छ । अस्पताल पु¥याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । सार्वजनिक भएको भिडियो हेर्नेहरु धेरैले कमेन्ट गरेका छन्–‘कठै त्यसबेला फटाफट उद्धार भएका भए बाँच्ने रहेछन् ।’