बुटवलमा सत्यवती यातायात प्रालि सञ्चालनमा

मेचीकाली संवाददाता

२ असार २०८१, शनिबार
211 shares

बुटवल । बुटवलमा सत्यवती यातायात प्रालि सञ्चालनमा आएको छ । प्रालिको शनिबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख तथा ई–रिक्सा व्यवस्थापन समितिका संयोजक सावित्रादेवी अर्यालले उद्घाटन गरिन् । सोही अवसरमा बोल्दै उनले बुटवल उपमहानगर सधैं स्वरोजगार मजदुरहरुको साथमा रहेको बताउँदै कार्यविधि र नीति नियमअनुसार ई–रिक्सा सञ्चालन गरी सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

बुटवलमा ई–रिक्सा आवश्यकताभन्दा बढी भएको निष्कर्षसहित उपमहानगरले आवश्यक अनुसन्धान गरी १ हजार ४४० ‘कोटा’ तोकेको उनले बताइन् । ‘बुटवललाई जति आवश्यक हो, त्यो संख्याअनुसार दर्ता गरी सञ्चालनका लागि आवश्यक सहजीकरण गछौँ । त्यो संख्याभन्दा बढी एउटा पनि रिक्सा थपिँदैन । दर्ता नभएका रिक्सा सडकमा गुड्दा दुर्घटना भएमा कसले जिम्मेवारी लिन्छ ?’, उपप्रमुख अर्यालले भनिन् । दर्ता नभएका ई–रिक्साहरू सञ्चालनमा उपमहानगरले कडाइ गरेको उनले बताइन् । ई–रिक्सा चालकहरुले यात्रुलाई सम्मानपूर्वक गन्तव्यमा पु¥याएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनले बताइन् । उपमहानगरले बुटवल बजारलाई सफा सुन्दर र व्यवस्थित बनाउन ठेला व्यवस्थापन तथा फुटपाथ व्यवस्थित गर्ने काम गरिरहेको उपप्रमुख अर्यालले बताइन् । बुटवल–९ का वडाध्यक्ष प्रदिपकुमार श्रेष्ठले ई–रिक्साको व्यवस्थापन जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले ई–रिक्सा चालकहरू इमानदार बन्नुपर्ने बताए । ट्राफिक नियमको पालना अरुका लागि नभई आफ्नै लागि हो भन्ने भावनाको विकास गर्न आवश्यक रहेको उनले बताए । दुर्घटना न्यूनीकरणका लागि सबैभन्दा बढी सवारी चालकहरु नै सचेत हुन आवश्यक रहेको बताउँदै उनले यात्रुहरुले समेत त्यस कुरामा ध्यान दिन जरुरी रहेको उल्लेख गरे । मुख्य चोकमा अव्यवस्थित पार्किङका कारण सडक साँघुरो हुँदै गएकोले दुर्घटनाको जोखिमसमेत बढ््दै गएको बताउँदै उनले जथाभावी पार्किङ नगर्न र गाडीको कागजपत्र, लाइसेन्स र बिमालाई ख्याल गर्न चालकहरुलाई आग्रह गरे ।

सत्यवती यातायात प्रालिका अध्यक्ष दधिराम पोखरेलले लामो समयदेखि तीनपाङ्ग्रे ई–रिक्साको व्यवसायमा लागेका साथीहरु संगठित भई प्रालि सञ्चालनमा आएको बताए । ई–रिक्साको व्यवसायमा देखिएका समस्या समाधान र पेशाकर्मी चालकहरुको हकहितका साथै नीतिनियम कार्यान्वयन गरी यात्रुलाई सहजरुपमा सेवा प्रदान गरिने उनले बताए । चालकहरुलाई आफ्नो पेशाप्रति अनुसाशित र जिम्वेवार बन्न आग्रह गर्दै उनले तोकेभन्दा बढी भाडा असुल्ने गरेको भेटिएमा कारवाही गर्ने बताए ।

अध्यक्ष पोखरेलका अनुसार अहिले प्रालिमा २ सय ई–रिक्सा आबद्ध भइसकेका छन् । यो संख्या केही दिनमै दोब्बर हुने उनले दाबी गरे । बुटवलमा ई–रिक्सा सञ्चालनमा आएको लामो समय भइसक्दा पनि यसलाई व्यवस्थित गर्न नसक्नु दुःखद भएको बताउँदै उनले प्रालिले त्यसका लागि आवश्यक सहकार्य र समन्वय गर्ने बताए । कार्यविधिअनुसार बुटवलभन्दा बाहिरबाट ई–रिक्सा बुटवलमा ल्याउन नपाइने भएपनि छिमेकी पालिकाबाट सहज रुपमा बुटवलमा ई–रिक्सा आउँदा यहाँका व्यवसायीलाई समस्या भएको उनले बताए । प्रालिले आफ्ना चालकहरुलाई ट्राफिक नियम, दुर्घटना हुने कारण, सडक लेन अनुशासन, ई–रिक्सा चलाउँदा चालकले ध्यान दिनुपर्ने कुरा र सवारीको अवस्थाका बारेमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष पोखरेलले बताए ।

प्रालिका संरक्षक ध्यानबहादुर राईले चालकहरुले ट्राफिक नियमको पूर्णरुपमा पालना गर्दै ई–रिक्सा सञ्चालनका लागि तोकिएका रुटमा यात्रुलाई सहजरुपमा सेवा प्रदान गर्न आग्रह गरे । उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुद्र जिसीले पर्यटकीय गन्तव्यका रुपमा विकास भइसकेको बुटवलमा आवश्यकता भन्दा बढी ई–रिक्सा सञ्चालन हुँदा यसले समस्या सिर्जना गरेको बताए । उपमहानगरले तोकेको भाडा दरभन्दा बढी भाडा दिने गरेको गुनासो बेलाबेला आइरहने र अनुगमनका क्रममा पनि बढी भाडा लिएको पाइएकाले प्रालिले आफ्ना चालकहरुलाई सचेत गराउनुपर्नेमा जोड दिए ।

हरियाली यातायात प्रालिका कोषध्यक्ष यज्ञप्रसाद गैरेले सफतताको शुभकामना दिँदै आबश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रम प्रालिका व्यवसायी खेमराज पौडेलको स्वागत तथा सचिव सुमन रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।