होटल क्षेत्रलाई सुरक्षित बनाउन व्यवसायी र प्रहरी संवेदनशील बन्न आवश्यक

मेचीकाली संवाददाता

८ असार २०८१, शुक्रबार
504 shares

बुटवल । पर्यटन उद्योगको रूपमा फस्टाएको होटल व्यवसाय क्षेत्रलाई सुरक्षित र मर्यादित रूपमा सञ्चालनको लागि प्रहरी संगठन र व्यवसायी स्वंम सचेत बन्नुपर्नेमा जोड दिइएको छ । होटल तथा रेस्टुरेन्ट व्यबसायी संघ, रूपन्देहीले शुक्रबार आयोजना गरेको शान्ति सुरक्षा तथा व्यवसायिक सचेतना कार्यक्रममा बोल्ने वक्ताहरू पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्दै मर्यादामा रहनुपर्नेमा जोड दिएका हुन् । त्यसको लागि प्रहरीबाट व्यवसायीलाई निरन्तर साथ र सहयोग जरूरी रहेको बताए ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले होटल व्यवसाय क्षेत्र संवेदनशील रहेको बताउँदै व्यवसायीमा सचेत बन्न आवश्यक रहेकोमा जोड दिए । उनले होटलमा आएर मानिसहरु बसे भन्दैमा व्यवसायीहरु खुसी हुन नहुने बताउँदै ग्राहक नियत चिन्न पनि आवश्यक रहेको बताए । ‘होटलहरुमा प्रयाप्त सिसि टिभी क्यामेरा पनि आवश्यक छ’ डिएसपी पण्डितले भने, ‘शान्ति सुरक्षा र होटलमा हुनसक्ने गतिविधिलाई त्यसले केही हदसम्म भए पनि पत्ता लगाउन सहयोग पु¥याउँछन । त्यस्तै होटलहरु खाद्य सुरक्षातर्फ पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ ।’

संघका केन्द्रीय सल्लाहकार देवीकुमार श्रेष्ठले प्रहरीको साथले नैं व्यवसायको सफलता हुने बताए । संघका अध्यक्ष लेखनाथ भण्डारीले व्यवसायको मूल्य मान्यता र विधिभित्र रहेर व्यवसाय सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह गरे । भण्डारीले विभिन्न प्रशासनिक झमेलाहरुमा प्रहरीबाट संघले उपयुक्त साथ खोजेको बताए । संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले ब्यबसायी पनि कानून मातहत रहेर सञ्चालन रहेको बताउँदै अबान्छित गतिविधि गर्ने व्यवसायीलाई संघले कहिल्यै साथ नदिने स्पष्ट पारे । संघका निर्वतमान अध्यक्ष रामप्रसाद गौतमले लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुन थापाले गरेका थिए । बुटवलमा रात्रिकालीन बजार सञ्चालनको पनि तयारी छ ।