एसईईमा रुपन्देहीका प्रवेश र कृतिमले ल्याए ४ जीपीए

मेचीकाली संवाददाता

१४ असार २०८१, बिहीबार
1703 shares

बुटवल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा रुपन्देहीका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् । देशभरबाट १८६ जीपीए ल्याएर उत्तीर्ण भएका विद्यार्थीमध्ये दुईजना रुपन्देहीका रहेका छन् । तीमध्ये एकजना सामुदायिक विद्यालयबाट र अर्को संस्थागत विद्यालयका छन् । सैनामैनास्थित रामापुर माविबाट एसईई दिएका विद्यार्थी कृतिम भट्टराई चार जीपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले जानकारी दिए ।

कृतिम पढाइसँगै सबै क्रियाकलापमा अब्बल थिए । प्रअ पौडेलले भने, ‘हाम्रा छात्र कृतिमले चार जीपीए ल्याउने आकलन गरेका थियौं, सोही अनुसारको रिजल्ट आयो ।’ रामापुरबाट एसईईमा सहभागी १८० विद्यार्थीमध्ये ए प्लस ग्रेडमा ६ जना र ए ग्रेडमा ४८ जनाको उत्कृष्ट नतिजा आएको छ । त्यस्तै बुटवलको न्यू होराइजन माविका छात्र प्रवेश खनालले पनि चार जीपीए नै ल्याएका छन् । प्रवेशले कक्षा २ देखि नै होराइजनमा पढ्दै आएका थिए ।

विद्यालयबाट सहभागी ३३९ जना विद्यार्थी सहभागी थिए । विद्यालयले ए प्लस ग्रेडमा ६९, ए ग्रेडमा १०० सहित उत्कृष्ट नतिजा ल्याएको विद्यालयका शिक्षक प्रकाश खनालले बताए । न्यू होराइजन यस क्षेत्रकै संस्थागत विद्यालयमध्ये उत्कृष्टमा पर्छ । यस विद्यालयका विद्यार्थीले हरेक वर्ष चार जीपीए ल्याउँदै आएका छन् । यो वर्ष चार जीपीए ल्याएर उत्तीर्ण हुने छात्र प्रवेशले आफ्नो आगामी शैक्षिक यात्रा पनि होराइजनबाटै अघि बढाउने बताए ।