संयुक्त भुपू सैनिक संघद्धारा शंकरनगर स्वास्थ्य चौकीमा वृहत सरसफाई

मेचीकाली संवाददाता

१६ असार २०८१, शनिबार
469 shares

बुटवल । तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित संयुक्त भुपू सैनिक संघको आयोजनामा शनिबार वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । संघले सामाजिक उत्तरदायीत्व अनुसार शंकरनगर स्वास्थ्य चौकी परिसरमा वृहत सरसफाई गरेको हो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा–२ का वडाध्यक्ष डीलबहादुर भट्टराईले स्थापना भएको छोटो समयमै भुपू सैनिक संघले विभीन्न सामाजीक कार्यहरू गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । बिभिन्न विपद् उद्धार तथा सामाजिक कार्यक्रमहरुमा अग्र मोर्चामा संघको उपस्थिती हुने भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । वर्षातको समय भएकोले यो समयमा विषालु सर्प तथा डेंगुको जोखिम बढी हुने बताउँदै त्यसतर्फ सचेत रहन वडाबासीलाई आग्रह गरे । हरेक सामाजिक संघसंस्थाले आफ्नो जिम्मेवारी सम्झेर आफ्नो टोल, वडा र नगरलाई सफा, सुन्दर र हरियाली बनाउन एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा शंकरनगर स्वास्थ्य चौकीका प्रमुख राजेश ज्ञवालीले यस्ता कार्यक्रमले स्वच्छ वातावरण निर्माणका लागि राम्रो सन्देश पुग्ने बताए । वर्षात्को समयमा पानी जमेर हुने फोहोरबाट बिभिन्न रोग फैलिन सक्ने बताउँदै घर आगर वरपर पानी जम्ने खाडल भए पुर्न तथा झाडी सफा गर्न आग्रह गरे । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमका लागि आफू सधैं तयार रहने उनले बताए ।

यस्तै, संघका अध्यक्ष डोरबहादुर खड्काले भुपू सैनिकका पेनशन लगायत अन्य समस्या समाधानका लागि पहल गर्ने तथा विपदको समयमा उद्धार तथा सामाजिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले संस्था स्थापना भई सोही अनुसार काम गर्दै आएको बताए । कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै उनले सामाजिक काममा सबैजना एक भएर अघि बढ्न सकेमात्र समृद्ध र सुन्दर नेपाल निर्माण गर्न सकिने बताए । संघले गरेका कामको चर्चा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संघका सल्लाहकार तथा वडा सदस्य डोलबहादुर थापाले घर, टोल, वडा सफा भएमात्र नगर सफा हुने भएको हुँदा वातावरणको सन्तुलन मिलाउन पनि सरसफाइ जरुरी रहेको बताए ।

सरसफाई कार्यक्रममा मालिका टोल विकास संस्थाका अध्यक्ष कमला घिमिरे, संसारीमाई टोल विकास संस्थाका अध्यक्ष तेजिन्द्र पौडेल, एकता टोल विकास संस्थाका अध्यक्ष माया घिमिरे, सगरमाथा टोल विकास संस्थाका अध्यक्ष धुव्र पाण्डे, माझगाउँ टोल विकास संस्थाका अध्यक्ष सीता अर्याल, त्रिशक्ती पशुपती टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र पौडेल, लक्ष्मी टोल विकास संस्थाका अध्यक्ष जगबहादुर थापा, मध्यविन्दु टोल विकास संस्थाका अध्यक्ष हर्कबहादुर टण्डन लगायत स्थानियको सहभागिता रहेको थियो ।

कार्यक्रम संघका उपाध्यक्ष तथा वडा स्तरिय टोल सञ्जालका अध्यक्ष क्याप्टेन नरबहादुर कार्कीको स्वागत तथा सचिवद्धय क्याप्टेन लालबहादुर कार्की र सुबेदार मिनराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।