समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न

मेचीकाली संवाददाता

१२ भाद्र २०७८, शनिबार
566 shares

सुनिल आचार्य

कपिलवस्तु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रमअन्तर्गत बाणगङ्गा नगरपालिकामा शनिबार समस्या पहिचान र कार्ययोजना निर्माण सम्पन्न भएको छ ।

मानवअधिकार समूहका सदस्य तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य, खाद्य र आवाशको अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवाला निकायको पहिचान गर्नुको साथै वार्षिक कार्ययोजनासमेत निर्माण गरेको छ । बैठकले कोभिड–१९ का कारण शिक्षा स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा पारेको असर हरुको विश्लेषण गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ ले बालबालिकाको शिक्षामा पारेको असरका विषयमा अन्तरक्रिर्या गर्ने, कोभिडका कारण दिर्घरोगी तथा अन्य रोगीहरुको उपचारमा समस्या देखिएकोले उनीहरूको उपचारका लागि पहल गर्नेलगायतका कार्ययोजनाहरू बनाएको छ ।

यस्तै नगरपालिकाका सम्पूर्ण वडाहरुमा मानव अधिकार समूहले कार्यक्रमहरु माग गरी पोषण , सुत्केरी स्याहार सुसार कार्यक्रम , अपाङ्गमैत्री कार्यक्रमका साथै गम्भीर प्रकारका रोगका बिरामीहरुलाई आर्थिक सहयोगका लागि वडासंग समन्वय गर्ने निर्णय भएको छ । बाणगङ्गा नगरपालिका–४ की वडा सदस्य इन्दिरा पन्तले सरकारले ७० प्रकारका औषधीहरु निशुल्क बितरण गर्ने नीति रहेकोमा स्वास्थ्य चौकीहरुबाट ३५ प्रकारका मात्र औषधीहरु मात्र उपलब्ध गराउँदै आएको बताइन् ।

अब यस बाणगंगा नगरपालिकाभित्रका ११ वटै स्वास्थ्य चौकीबाट ७० प्रकारका निशुल्क औषधीको व्यवस्था नगरपालिकाले मिलाउनुपर्ने उनले बताइन् । साथै ११ वटै स्वास्थ्य चौकीमा संचालनमा ल्याइएका ल्यावबाट नगरपालिकाका नागरिकहरुले ल्याव परीक्षण पनि निशुल्क हुनुपर्छ भन्ने विषयमा मानव अधिकार समूहले नगरपालिकासंग समन्वय गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

यसैगरी शिक्षक महासंघका जिल्ला अध्यक्ष देवकला कमालले इन्सेक, मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य खाद्य र आवासका बिषयमा आवाज उठाई उल्लेख्य कार्य गर्दै आएको बताइन् । कोभिड–१९ ले बालबालिकाको शिक्षामा पारेको असरप्रति स्थानीय निकायको ध्यान जान आवश्यक रहेको बताइन् । मानव अधिकार समूहकी सल्लाहकार चेतना अधिकारीले राज्यले स्थापित गरेका नागरिकका अधिकारहरु जनताले सहज रुपमा पाउनु पर्ने बताइन् ।

समूहकी अध्यक्ष इन्दीरा भट्टराईको अध्यक्षता, समूहकी सचिव मधु पाण्डेको संचालनमा सम्पन्न बैठकमा इन्सेक सहजकर्ता पार्बती आचार्यले कार्यक्रमका बारेमा जानकारी दिएकी थिइन् ।