आइसिसी टी–२० विश्वकपमा भारत दोस्रोपटक च्याम्पियन

मेचीकाली संवाददाता

१७ असार २०८१, आईतवार
174 shares

काठमाडौं । भारत दोस्रोपटक आइसिसी टी–२० विश्वकपको च्याम्पियन बनेको छ । शनिबार राति वेस्ट इन्डिजमा सम्पन्न भएको फाइनलमा दक्षिण अफ्रिका ७ रनले पराजित गर्दै १७ वर्षपछि उपाधि जित्यो । वेस्ट इन्डिजको बार्बाडोसमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रत्युत्तरमा दक्षिण अफ्रिकाले आठ विकेट गुमाउँदा मात्र १ सय ६९ रन बनाउन सक्यो । भारत सन् २००७ पछि दोस्रोपटक उपाधि जित्न सफल भयो । अपराजित रहँदै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधि जित्न फेरि असफल भएको छ । एडम मारक्रम कप्तानीमा रहेको दक्षिण अफ्रिका यसअघि टी–२० मा दुई तथा एकदिवसीयमा पाँचपटक सेमिफाइनलमा पुगेर चुकेको थियो । भारत भने अपराजित हुँदै च्याम्पियन हुन सफल भयो ।

दक्षिण अफ्रिकाको लागि हेनरिक क्लासेनले अर्धशतक बनाए । उनले विस्फोटक ब्याटिङ गर्दै २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सफल भएनन् । यसअघि क्लासेनले २३ बलमा अर्धशतक बनाएका थिए । १५औँ ओभरमा स्पिनर अक्षर पटेललाई क्लासेनले दुई छक्का र दुई चौकासहित २४ रन प्रहार गरेपछि दक्षिण अफ्रिका सहज अवस्थामा पु¥याएका थिए । तर, बाँकी खेलाडीले त्यसको भरपुर सदुपयोग गर्न सकेनन् ।

ओपनर क्विन्टन डी ककले ३१ बलमा चार चौका र एक छक्कासहित ३९ रनको योगदान गरे । ट्रिस्टान स्टब्सले २१ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडेका हुन् । यसअघि ओपनर रिजा हेनरिक चार रन बनाउँदा जसप्रित बुमराहबाट बोल्ड भएका थिए । दक्षिण अफ्रिकाको इनिङ्समा क्लासेन र डी ककले ३८ बलमा सर्वाधिक ६८ रनको साझेदारी गरे । क्लासेन र डेभिड मिलरबीच ४५ रनको दोस्रो ठूलो साझेदारी भएको थियो । मिलरले २१ रनको योगदान गरे । भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए । स्पिनर अर्सदीप सिंह र जसप्रितले समान दुई विकेट हात पारे । अक्षरको नाममा एक विकेट रह्यो ।

भारतको इनिङ्समा विराट कोहलीले अर्धशतक बनाए । उनले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन् । अलराउन्डर अक्षर पटेलले ३१ बलमा ४७ रन बनाएका हुन् । अर्का ओपनर तथा कप्तान रोहित शर्मा ९ रन, तेस्रो क्रममा आएका ऋषभ पन्त डक आउट तथा सूर्यकुमार यादव ३ रन बनाएर आउट भएपछि भारत दबाबमा आएको थियो । तर, अक्षर र कोहलीले भारतको इनिङ्स धानेका थिए । दुई खेलाडीबीच ५४ बलमा सर्वाधिक ७२ रनको साझेदारी भयो । कोहली र शिवम् दुबेबीच ३३ बलमा ५७ रनको दोस्रो ठूलो साझेदारी भएको हो । दुबेले १६ बलमा २७ रन बनाए । दक्षिण अफ्रिकाका एनरिच नर्टजी र केशव महाराजाले समान दुई विकेट हात पारे । माक्रो जनसन, कागिसो रबडाले समान एक विकेट लिएका हुन् ।

भारतको इनिङ्समा विराट कोहलीले अर्धशतक बनाए । उनी नै खेलको प्लेयर अफ दि म्याच घोषित भए । कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन् । प्रतियोगितामा उनको यो पहिलो अर्धशतक थियो । यसअघि उनी समूह चरण, सुपर एट र सेमिफाइलनमा चल्न सकेका थिएनन् । निर्णायक फाइनल खेलमा भने कोहलीले सम्हालिएको प्रदर्शन गरे । फाइनलअघि उनले जम्मा ७५ रन बनाएका थिए ।

टी–२० आईबाट कप्तान रोहित र कोहलीको सन्न्यास
भारतलाई विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० आईबाट सन्न्यासको घोषणा गरेका छन् । शनिबारको खेलपछि पत्रकार सम्मेलनमा कप्तान शर्माले टी–२० विश्वकपको फाइनल नै आफ्नो टी–२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताए ।

शर्माले पत्रकार सम्मेलनमा भने, ‘यो मेरो अन्तिम प्रतिस्पर्धा गथयो । मैले हरेक क्षणलाई प्रेम गरेको छु । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ रोहितले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहनेछन् । उनकै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जित्न सफल भएको छ । उनले सन् २००७ सेप्टेम्बरमा इंग्ल्यान्डविरुद्ध टी–२० आईमा डेब्यू गरेका थिए । भारतले २००७ को विश्वकप जित्दा वर्तमान टोलीमा भएका रोहित एकमात्रै सदस्य हुन् ।

त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि–२० बाट सन्न्यासको घोषणा गरेका थिए । ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप हो,’ कोहलीले भने, ‘मैले मेरो काम पूरा गरेँ । अब, नयाँ पिँढीका लागि अवसर हो । केही राम्रा खेलाडीले टिमलाई अगाडि बढाउँदै छन् र झन्डा फहराउनेछन् ।’ कोहलीले सन् २०१० मा हरारेमा भएको खेलमा जिम्बाव्वेविरुद्ध डेब्यु गरेका थिए । एक समय कप्तान समेत रहेका कोहलीले टी–२० आईमा भारतको लागि १२५ खेल खेलेका छन् । जसमा चार हजार १८८ रन बनाएका हुन् । जसमा एक सतक र ३८ अर्धतक बनाएका छन् ।