प्रगतिनगर खानेपानी संस्थाको अधिवेशनको माग गर्दै ५ वटा निकायमा ज्ञापनपत्र

मेचीकाली संवाददाता

२० असार २०८१, बुधबार
185 shares

बुटवल, असार १९ । बुटवल उपमहानगरपालिका–११ स्थित प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाको साधारणसभा तथा अधिवेशन गर्न माग गर्दै टोल विकास संस्था तथा उपभोक्ताहरुको समूहले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित ५ वटा निकायलाई ज्ञापनपत्र बुझाएका छन् ।

२०६४ सालयता साधारणसभा र अधिवेशनन नभएकाले ३५ दिनभित्र साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न माग गर्दै बुधबार उनीहरुले प्रमुख जिल्ला अधिकारी, बुटवल उपमहानगरपालिका, खानेपानी डिभिजन कार्यालय, बुटवल ११ नम्बर वडा कार्यालय र प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थामा ज्ञापनपत्र बुझाएका हुन् ।

शुरुमा बिसी टोल विकास संस्थाका अध्यक्ष विरबहादुर कुँवरको संयोजकत्वमा विभिन्न टोल विकास संस्थाका अध्यक्ष, प्रतिनिधि तथा उपभोक्ताहरुले खानेपानी संस्थाका सहसचिव टिकाराम सुनार र प्रशासन प्रमुख निर्मला पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

२०६४ सालयता १५ वर्षसम्म पनि साधारण सभा र अधिवेशन नगरेको हुँदा अधिवेशन गर्न अनुरोध गर्दा समेत बेवास्ता गर्दै आएकाले उपभोक्ताहरुका प्रतिनिधी र टोल विकास संस्थाहरुको बैठक बसी ३५ दिन भित्र साधारण सभा तथा अधिवेशन गर्न माग गर्ने निर्णय अनुसार ज्ञापनपत्र बुझाइएको एफ सेक्टर टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर गुरुङले बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र बुझ्दै लामो समयसम्म अधिवेशन नगर्नु गैर कानुनी भएको भन्दै आफूले यथाशीघ्र अधिवेशन गर्न निर्देशन दिने जानकारी आफूहरुलाई गराउनुभएको अध्यक्ष गुरुङले बताए । लामो समयसम्म संस्थाको साधारणसभा तथा अधिवेशन नहुँदा आर्थिक अनियमिततासमेत भएको हुनसक्ने उपभोक्ताको आशंका रहेको उनले बताए ।

उता अध्यक्ष जीत बहादुर मल्लले २०६७ सालदेखि साधारणसभा तथा अधिवेशन हुन नसकेको स्वीकार गर्दै तीनपटक साधारणसभा तथा अधिवेशन गर्ने निर्णय भएपनि बिभिन्न कारणले सम्पन्न गर्न नसकिएको बताए । भुकम्प, कोरोना महामारी लगायतका कारण अधिवेशन सम्पन्न गर्न नसकिएको उनले बताए । २०६२ सालमा स्थापना भएको संस्थामा हाल २ हजार ६४५ घरधुरी उपभोक्ता रहेका छन् ।