लुम्बिनीमा नयाँ सरकार गठनको गृहकार्य: प्रदेश प्रमुखलाई एमालेको पत्र

मेचीकाली संवाददाता

२२ असार २०८१, शुक्रबार
175 shares

बुटवल । नेकपा एमालेले लुम्बिनीमा सहमतिको सरकार बनाउने तयारी भएको भन्दै प्रदेश प्रमुखलाई औपचारिक पत्र बुझाएको छ ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएपछि त्यसको औपचारिक जानकारी गराउँदै नेकपा एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बुटवलस्थित लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा औपचारिक जानकारी गराएका हुन् ।

चौधरीले मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेबाट मन्त्री भएका सबैले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई जानकारी पत्र बुझाएको बताए ।

प्रमुख सचेतक चौधरीले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन प्रदेश प्रमुखको कार्यालयलाई आग्रह गरिएको बताए ।

प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश, बुटवल मुकामका उपसचिव धर्मा अर्यालले जानकारी पत्र बुझ्दै प्रदेश प्रमुखको संवैधानिक निर्देशन अनुरूप आवश्यक कागजात तयार पारिने बताइन् ।

प्रदेश प्रमुख शेरचन औषधोपचारका लागि केही दिनदेखि काठमाडौंमा रहेको उनका स्वकीय सचिव वसन्त भट्टचनले जानकारी दिए ।

एमालेले असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई राजीनामा दिन लगाएको थियो । सोही अनुरूप मन्त्रीहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्नबहादुर खत्री, अर्जुन केसीले असार २० गते बेलुका राजीनामा दिएका थिए ।