पाल्पाको रामपुरमा कपडा बैंक सञ्चालनमा

मेचीकाली संवाददाता

२४ असार २०८१, आईतवार
137 shares

बुटवल । पाल्पाको रामपुर नगरपालिका–५ बेझाँडमा उपकार सुपरमार्ट प्रालिको दोस्रो शाखासँगै क्लोथ एन्ड फुड बैंक नेपालको कपडा बैंक सञ्चालनमा आएको छ । मटेरी ठूलोटारबाट सेवा प्रदान गर्दै आएको मार्टले शनिबारदेखि बेझाँड बजारमा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो । माटले क्लोथ एण्ड फुड बैंक नेपालको समन्वयमा कपडा बैंकको स्थापना गरेको हो ।

सुपरमार्ट सँगै कपडा बैंकको महानायक एवं क्लोथ एण्ड फुड बैंक नेपालका संरक्षक राजेश हमालले उद्घाटन गरे । उनले केही महिना अघि बुटवलदेखि सुरु भएको कपडा बैंक देशका बिभिन्न शहर र गाउँमा पनि सथपना भइरहेको बताए । कपडा बैंक गरिब तथा निम्न वर्गका लागि मात्र नभै आवश्यक पर्ने सबैको लागि रहेको स्पष्ट पारे ।

क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले स्थानीय सरकार र विभिन्न संघ संस्थासंग समन्वय गरी देशभर कपडा बैंक स्थापना गर्ने क्रम चलिरहेको जानकारी दिए । उनले संकलन भएको कपडा प्रशोधन गरी बिपदमा परेका नागरिक तथा आवश्यक परेका सबैलाई वितरण गर्दै आईरहेको बताए ।

क्लोथ एण्ड फुड बैंक नेपालका सल्लाहकार राजिव गौतमले कपडा बैंकको बारेमा जानकारी गराउँदै संकलन भएको कपडा प्रशोधन गरी प्रयोग गर्न योग्य बनाएर मात्र वितरण गरिने भएकाले धेरै लुगा हुनेले जम्मा गर्न र नहुनेले ढुक्क भएर प्रयोग गर्न अनुरोध गर्नुभयो । कपडा बैंक स्थापनाका लागि किङ्गस क्लव र रामपुर फिटनेश सेन्टरले पनि सहयोग गरेको छ ।

कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कपडा बैंकलाई दिगो रुपमा सञ्चालन गर्नका लागि उद्योगी तथा निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । उपकार सुपरमार्टका अध्यक्ष विष्णु प्रसाद गौतमले व्यवसाय मात्र नहेरी सामाजिक सेवा भावका साथ क्लोथ बैंक स्थापना गरिएको बताए ।