एउटा ‘ब्लडमनी’ को कथाः यसरी जोगियो रामआशीषको ज्यान…

मेचीकाली संवाददाता

२८ असार २०८१, बिहीबार
199 shares

दीपेश पछाई

भैरहवा । ब्लडमनीबापतको ४६ लाख २५ हजार रुपैयाँ जुटाउँदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र व्यवसायीहरुले धनुषाका रामआशीष यादवको ज्यान जोगाएका छन् । साउदी अरवको ताबुक क्रिमिनल कोर्टले मृत्युदण्डको सजाय सुनाएका धनुषाको जनकपुर उपमहानगरपालिका–१७ बस्ने रामआशीष यादवको तर्फबाट पीडित परिवार रुपन्देहीको कन्चन गाउँपालिक–४ का दुर्गाप्रसाद शर्माको परिवारलाई ब्लडमनीबापत ४६ लाख २५ हजार रुपैयाँ आर्थिक व्यवस्थापन गरी मृत्युदण्डको सजायबाट जोगाइएको हो ।

रुपन्देहीका उद्योगी व्यवसायीहरुले ३६ लाख २५ हजार र धनुषाबाट यादव परिवारले १० लाख गरी ४६ लाख २५ हजार रकम व्यवस्था भएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको सकृयतामा ३० जना व्यवसायीहरुबाट ब्लडमनीबापतको आवश्यक रकम जम्मा गरी पिडक यादवको परिवारका तर्फबाट पीडित शर्माको परिवारलाई मंगलबार हस्तान्तरण गरिएको छ । ब्लडमनीबापतको रकम हस्तान्तरण गर्दाको माहोलले प्रमुख जिल्ला अधिकारी अर्यालसमेत रोएका थिए । धनुषाका यादव परिवारले प्रजिअ अर्याललाई भगवान्को संज्ञा दिँदै घरमा फोटो राखेर पूजा गर्ने बताए ।

यस्तो थियो घटना
सन् २०१८ मा रुपन्देहीको कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्मा र धनुषाको जनकपुर उपमहानगरपालिका–१७ बस्ने रामआशीष यादव साउदी अरबमा एउटै कम्पनीमा काम गर्दै आएका थिए । एउटै कम्पनीमा काम गर्दै आएका उनीहरु एउटै कोठामा बस्ने गर्दथे । २०१८ को अक्टोबर ६ मा कोठामै धनुषाका रामआशीष यादवले रुपन्देहीका दुर्गाप्रसाद शर्माको छुरा प्रहार गरी हत्या गरेका थिए ।
साउदीको ताबुक क्रिमिनल कोर्टले सन् २०२० को २० डिसेम्बरमा हत्या गरेको प्रमाणित गर्दै रामआशीष यादवलाई तत्कालको लागि ५ वर्षको कैद सजायको फैसला ग¥यो । साउदीमा आरोपितका परिवार र पीडित परिवारबिच ब्लडमनी बुझ्ने सहमति नभए हत्यामा संलग्नलाई मृत्युदण्डको सजाय दिइने कानुन छ ।

साउदीमा रामआशीषले मान्छे मारेको र जेलमा रहेको कुरा जनकपुरमा रहेकी उनकी श्रीमती रेनो कुमारीले पछि मात्र थाहा पाइन् । आर्थिक अवस्था निकै दयनीय रहेका यादवका तीन छोरी छन् । आर्थिक अवस्था कमजोर भएका कारण तीनै जना छोरीहरु विद्यालयसमेत जान पाएका थिएनन् ।
यादव परिवारमा अदालतले ब्लडमनी तिरे रामआशीष छुट्न सक्ने झिनो आशा देखाएको थियो । उता अदालतको निर्णय कन्सुलर विभाग हँुदै त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पनि प्राप्त भएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यसमा तदारुकता देखाउँदै रकम संकलनमा जुटेका हुन् ।

प्रजिअ अर्यालले जुटाए ३६ लाख
रेनो कुमारीका मामा प्रभु यादव भान्जाज्वाइ रामआशीषलाई माफीको आशासहित केही समय पहिला रुपन्देही आएका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याल र प्रभु यादवले मृतक दुर्गाप्रसाद शर्माको श्रीमती सीता शर्मासँग माफीको अपेक्षासहित पुगेका थिए । ‘सुरुमा उहाँले मान्नुभएको थिएन, त्यो स्वाभाविक पनि हो । पटकपटकको कुरा गर्दा पनि २–३ महिनासम्म कुरा मिल्न सकेन । कञ्चन गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, प्रजिअ अर्याललगायतको लगातारको प्रयास पछि सीता ब्लडमनी लिएर माफी दिन तयार भइन् । सीताले ब्लडमनीबापत ५० लाख रुपैयाँ मागिन् । जुन धनुषामा रहेको यादव परिवारको लागि असम्भव थियो । ५० लाखको कुरा सुनेपछि म आशा मारेर जनकपुर फर्किएँ ।’ प्रभु यादवले भने ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भने पैसाकै अभावमा कसैलाई मर्न दिनुहँुदैन भन्ने पक्षमा थिए । उनले यो कुरा उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलाई भने । यसको लागि ‘बास्केट फण्ड’ बनाउने कुरा भयो । तत्काल प्रजिअ अर्यालले ५० हजार र दुई जना सहायक प्रजिअले २५ हजार तथा रुपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुखले जनही २५ हजार रुपैयाँका दरले जम्मा गरे । उता जिल्लाका ३० जना उद्योगी व्यवसायीसमेत गरी ३६ लाख २५ हजार रुपैयाँ जम्मा भयो ।
‘सिडियो हाम्रा लागि भगवान् हुन्’

घरमा फोटो राखेर पुजा गछौँ । रामआशीषकी श्रीमती रेनु कुमारीले आफ्नो भएको १५ धुर खेत, अढाई धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख जुटाएकी थिइन् । सबै मिलाई ४६ लाख २५ हजार रुपैयाँ मृतक दुर्गाप्रसाद शर्माको श्रीमती सीता शर्मालाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरिएको थियो । ब्लडमनीबापतको रकम बुझ्दै गर्दा सीता डाको छाडेर रोएकी थिइन् । यादवका परिवार पनि चिच्याउँदै रोए । यो अवस्था नजिकबाट नियालिरहेका प्रमुख जिल्ला अधिकारीका आँखा पनि ओभानो रहेनन् । उनी पनि रोएपछि माहोल निकै कारुणिक बन्न पुगेको थियो । कारागारमा रहेका यादवकी श्रीमती रेनो प्रमुख जिल्ला अधिकारीलाई भगवान्को संज्ञा दिँदै अर्यालको खुट्टा समाउन पुगिन् ।

रुपन्देहीकै युवालाई हत्या गरेका यादवलाई जोगाउन रुपन्देहीकै व्यवसायीहरुले साथ दिए । ‘एउटाको मृत्यु भइसकेको अवस्थामा अर्कालाई पनि मृत्यु नै दिनु हँुदैन भन्ने हाम्रो मान्यता थियो त्यसकारण हामीले यस्तो कठिन अवस्थामा पनि रकम जम्मा गरेका हौँ’, उद्योग वाणिज्य महासंघ, लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले भने । ‘हामीले दुईटा घरलाई बचाउनका लागि यो प्रयास गरेका हौं’, उनले भने । ५ वर्षमा रामआशीषले आर्फूले गरेको कर्मको सजाय भोगेको र यसका बालबालिकाले दुःख नपाऊन् भन्ने उद्देश्यले पनि रकमको जोहो गरिएको शर्माले बताए । ‘प्रमुख जिल्ला अधिकारीको सकृयतामा करिब ३० जना उद्योगी व्यवसायीहरुको सहयोगमा रकम संगलन गरेका हौँ,’ सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने ।

आफूले आशा मारिसकेको अवस्थामा रुपन्देहीका सिडियो र व्यवसायी आफ्नो लागि भगवान भएर आएको रामआशीषकी श्रीमति रेनो कुमारीले बताइन् । ‘मेरो लागि यहाँका सिडियो साब भगवान् हुनुहुन्छ, म उहाँको फोटो लगेर भगवान् राख्ने ठाउमा राख्छु र दैनिक पूजा गर्छु ।’ रेनोले रुँदै भनिन् । प्रमुख जिल्ला अधिकारी अर्यालले सम्झौता गरेको कागज कन्सुलर विभाग हुँदै साउदी पठाइने बताए । सबै कुरा ठिक रहे अबको करिब एक महिनापछि रामआशीष घर फर्किनेछन् ।