बुटवलको ज्योतिनगरमा पहिरोः दर्जन बढि घरमा क्षति

मेचीकाली संवाददाता

१३ भाद्र २०७८, आईतवार
778 shares

बुटवल । लगातारको वर्षाले रूपन्देही र पाल्पाका ठूलो क्षति गराएको छ । गएको बिहीबारदेखि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ । बुटवलको ज्योतिनगरका चुरे पहाडबाट पहिरो झरेको छ । ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ । बुटवल वडा नम्बर ३ को ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको छ ।

पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताइन् । बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले जानकारी दिए । उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पु¥याएर आवागमन अवरुद्ध भएको र त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ । पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् । पहिरोको जोखिममा रहेका अन्य स्थानीयलाई पनि अन्यत्र सार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।