लुम्बिनीमा ढल्यो माओवादी नेतृत्वको सरकार

मेचीकाली संवाददाता

६ श्रावण २०८१, आईतवार
125 shares

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार ढलेको छ ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएसँगै साढे तीन महिनामै लुम्बिनीमा माओवादी नेतृत्वको सरकार ढलेको हो ।

नयाँ सत्ता समीकरण (एमाले–कांग्रेसको) बनेपछि मुख्यमन्त्री अल्पमतमा हुनुहुन्थ्यो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था आह्वान भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले राजीनामा दिएको घोषणा गर्नुभयो ।

रोल्पाबाट निर्वाचित नेकपा माओवादी संसदीय दलका नेता महरा २३ चैतमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

अब लुम्बिनीमा एमालेका लिला गिरीको नेतृत्वमा सरकार बन्नेछ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभा ११ दलको प्रतिनिधित्व छ । लुम्बिनीमा सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ११, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्तिका ४/४, जनता समाजवादी पार्टी (जसपा) २, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३/३, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी र स्वतन्त्रका १/१ जना सांसद छन् ।