लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्न नपाउने, एमालेले उपनेता आचार्यलाई अघि सार्‍यो

मेचीकाली संवाददाता

७ श्रावण २०८१, सोमबार
130 shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ ।

नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि बढाउने निर्णय गरेसँगै आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ ।

‘मुख्यमन्त्रीमा दलका उपनेता चेतनारायण आचार्यलाई अघि बढाउने निर्णयानुसार आज दाबी पेश हुँदैछ,’ प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने, ‘केन्द्रको निर्णयानुसार मुख्यमन्त्रीमा दलका उपनेता आचार्यलाई अघि बढाउने कुरा भएको छ । हामी त्यसको तयारीमा छौं ।’

यसअघि संसदीय दल नेता लिला गिरी मुख्यमन्त्री बन्ने जानकारी गराइए पनि अन्तिममा आएर मुख्यमन्त्रीको उम्मेदवार फेरिएको छ ।

आचार्यको नेतृत्वमा सरकार बनाउने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक चौधरीले जानकारी दिएका छन् ।

अर्घाखाँची निर्वाचित क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

त्यसपछि लिला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री भए ।

माओवादी नेता जोखबहादुर महरा नेतृत्वको सरकारमा भने उनी आर्थिक मामिला तथा योजना मन्त्री थिए ।

प्रदेश प्रमुखले सरकार बनाउन आज साँझ साढे ६ बजेसम्मको समय दिएका छन् । साढे ३ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेश गर्ने तयारी छ ।