रोटरी क्लब तिनाउ बुटवल र रोट्याक्ट तिनाउद्धारा संयुक्त वृक्षरोपण

मेचीकाली संवाददाता

७ श्रावण २०८१, सोमबार
398 shares

बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवल र रोट्¥याक्ट क्लब अफ तिनाउ बुटवलको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लबको वार्षिक कार्ययोजना अन्तर्गत वृक्षरोपण गरिएको क्लबले जनाएको छ । बढ्दै गएको पर्यावरण असन्तुलनलाई रोक्न रोटरी इन्टरनेशनलले सबै क्लबहरुलाई वृक्षरोपण गर्न आग्रह गर्दै आएको छ ।

सोही अनुरुप रोटरी क्लब अफ तिनाउ बुटवलले यसबर्ष बुटवलस्थित लुम्बिनी बस टर्मिनल अगाडी ६ लेन सडकको मेडियनमा बृक्षरोपण गरेको हो । स्वामी र कपुरका बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई सुरक्षित, उज्यालो, वातावरणमैत्री, सरसफाइयुक्त र हरियाली बनाउने अभियानमा उपमहानगरपालिका लागेको बताए ।

नगरप्रमुख पाण्डेले बिभिन्न सामाजिक संघसंस्थाले जुन स्थानमा बिरुवा लगाएका छन् ती बिरुवाको हुर्काउने, गोडमेल गर्ने र सो स्थानको सरसफाइ गर्ने जिम्मेवारी पनि सम्बन्धित संस्थाको रहने भन्दै संरक्षण नगरे त्यस्ता संघसंस्थाका बोर्ड उपमहानगरपालिकाले हटाईदिने बताए ।

उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले रोटरी क्लब अफ तिनाउ बुटवलले बृक्षरोपण गरेको स्थान बुटवलको मुटु रहेको र बुटवल आउनेहरुले पहिले देख्ने स्थान समेत रहेकोले यो स्थानको सौन्दर्यकरणका लागि पनि आग्रह गरिन् । अर्यालले सबै मिलेरमात्रै बुटवललाई हरियाली र हराभरा गराउन सकिने बताइन् ।

क्लबका एजि हिमाल गैरेले क्लबको मात्र नभई रोटरी डिष्ट्रीकको कार्ययोजनालाई पूरा गर्न रोटरी क्लब अफ तिनाउ बुटवलले गरेको कार्यको प्रशंशा गरे । क्लबका अध्यक्ष रमिला शर्माले क्लबले स्थापना कालदेखि नै बृक्षरोपण गर्दै आएको र अहिले बुटवल उपमहानगरसंगको समन्वयमा नगरले तोकेकै ठाँउमा बृक्षरोपण गरिएको बताइन् ।

उनले बिरुवा लगाउनेमात्रै नभई तिनिहरुको गोडमेल र संरक्षण गर्ने बताइन् । अहिले लगाएका बिरुवाको गोडमेल र संरक्षणको लागिपनी क्बल प्रतिबद्ध रहेको बताइन् ।

क्लबका सचीव सपना कार्कीको संचालन तथा कार्यक्रम संयोजक कृष्णमाया कार्कीको स्वागतमा सम्पन्न भएको कार्यक्रमका संस्थापक अध्यक्ष देवि वाग्ले,क्लबका जिएस आर एजाज आलम , रोट्¥याक्ट क्लब अफ तिनाउ बुटवलका अध्यक्ष बसुन्धरा शर्मा, पुर्ब अध्यक्षहरु भगवती पाण्डे,ज्ञानधरा पन्थ,प्रतिमा भट्टराई, कल्पना तिवारी लगायतको सहभागिता रहेको थियो ।