अक्सफोर्ड माविमा नमुना संसद् अभ्यास

मेचीकाली संवाददाता

९ श्रावण २०८१, बुधबार
83 shares

बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा मंगलबार नमुना संसद् कार्यक्रम गरिएको छ । स्कुले विद्यार्थीलाई व्यवस्थापिका संसद्, संसद्मा हुने गतिविधि र सांसदले निभाउने भूमिकाका बारेमा जानकारी दिने उद्देश्यले अक्सफोर्डले नमुना संसद् कार्यक्रम गरेको हो ।

नुमना संसद्मा प्रतिनिधि संसद् भवनमा हुने गरेका जस्तै गतिविधि विद्यार्थीले दुरुस्त प्रस्तुत गरेका थिए । अक्सफोर्ड नमुना संसद् बैठक बस्नुपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन लुम्बिनीका प्रदेश सांसद तथा पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सांसद श्रेष्ठले असल संसदीय संस्कारको सुरुवातका लागि नमुना संसद् कार्यक्रम प्रशंसनीय रहेको बताए । उनले सांसद जनताको प्रतिनिधि भएकाले एक जनप्रतिनिधिको योग्यता देश र जनताका लागि त्याग, समर्पण, जिम्मेवारी र जवाफदेहीता हुने भएकाले त्यहीअनुसार कार्य गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य, दिनेश भुसाल, अक्सफोर्ड कलेज व्यवस्थापन समितिका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल, विद्यालयका सहप्राचार्य मोहन क्षेत्री, शिक्षक हिमलाल न्यौपानेलगायतले विद्यार्थीहरुलाई मुलुकको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका बारेमा जानकारी हुनु पर्ने उल्लेख गर्दै सोहीअनुसार व्यवस्थापिकाको भूमिकाका लागि नमुना संसद् कार्यक्रम गरिएको बताए । कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकालले गरेका थिए ।