

काठमाडौं । इटालियन सिरि ए लिगको दोस्रो खेलमा युभेन्ट्सले हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स एम्पोलीसँग १(० गोल अन्तरले पराजित भएको हो ।
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि युभेन्ट्सले पहिलो खेल खेलेको हो । सिरि ए लिगमा आफ्नो दोस्रो खेलमा एम्पोलीको लागि निर्णायक गोल लिओनार्दो मानकुसोले गरे । उनले २१ मिनेटमा गरेको गोल नै टोलीको लागि तीन अंक दिलाउन पर्याप्त रह्यो ।
यस अघि पहिलो खेलमा समेत युभेन्ट्स उडिनेससँग २(२ गोलको बराबरी गर्दै अंक बाँडेको थियो । सो खेलमा रोनाल्डो दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
पाउलो डिबलाको कप्तानीमा रहेको युभेन्ट्स २ खेलबाट १ अंक सहित तालिकाको १३ औं स्थानमा छ । यस्तै, एम्पोली भने २ खेलबाट ३ अंक सहित ११ औं स्थानमा छ ।
यसैगरी, फिओरेन्टिनाले टोरिनोलाई २(१ गोल अन्तरले पराजित गरेको छ । एटलान्टा र बोलोग्नाले गोलरहित बराबरी खेल्दा लाजियोले १० खेलाडीमा सीमित स्पेजियालाई ६(१ गोल अन्तरले पराजित गरेको हो ।
लाजियोका सिरो इमोबाइलले ह्याट्रिक गोल गरे । फिलिपे एण्डरसन, एल्सिद ह्यसाज र लुइस अल्बर्टोले एक(एक गोल गरे।स्पेजियाका डानिले भेर्डेले एक गोल फर्काए।
लगातार दोस्रो जितसँगै लाजियो अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लाजियोले २ खेलमा ६ अंक जोडेको छ।स्पेजिया १ अंक जोडेर १५ औं स्थानमा छ।