पूर्वी पाल्पा समाज, रुपन्देहीद्वारा जनतासँग समाज कार्यक्रम

मेचीकाली संवाददाता

१४ श्रावण २०८१, सोमबार
225 shares

बुटवल । बुटवलमा स्थापना भएको पूर्वी पाल्पा समाज रुपन्देही, बुटवल–रामपुरले रामपुरमा ‘जनतासँग समाज कार्यक्रम’ गरेको छ ।

रुपन्देहीमा गठन भएको समाजले पहिलोपटक संस्थागत रुपमा जन्मथलोका सरोकारवाला जनतासँग सल्लाह सुझाव लिन र आफ्ना योजना कार्यक्रम राख्दै सहकार्य र समन्वय गर्न अन्तत्र्रिmयामूलक कार्यक्रम गरेको हो । पाल्पाको रामपुर जन्मथलो भई हाल विभिन्न कारण रुपन्देही बस्दै आएका पूर्वी पाल्पालीहरुले एकबद्ध भई आफ्नो जन्मभूमिमा सहयोग तथा सेवा मार्फत योगदान दिन समिति गठन गरेका हुन् ।

समाजका अध्यक्ष सुनिल श्रेष्ठले रामपुर क्षेत्रको विकासको लागि सबै पूर्वी पाल्पालीहरु एक भएर विकास गर्ने संकल्पसहित समाज गठन गरेको बताए । स्थापनाको छोटो समयमा नै समाजले विभिन्न कार्यक्रम अगाडि सारेको बताउँदै उनले छात्रवृत्ति कोष स्थापना, छोरी शिक्षा कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, अस्पताललाई एम्बुलेन्स सेवा, शैक्षिक संस्थामा अन्य शैक्षिक क्रियाकलाप र समयसापेक्ष विभिन्न भेला कार्यक्रम गर्दै जाने बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य एंव अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठले पूर्वी पाल्पा समाज गठन गर्नु महत्वपूर्ण बिषय रहेको बताउँदै अब यसले गर्ने हरेक सामाजिक काममा प्रदेश सभा सरकार र व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुर रुपन्देही समाजले जन्मथलो बिर्सेर नकारात्मक टिप्पणी गर्नेलाई पूर्वी पाल्पा समाज रुपन्देहीले राम्रो सन्देश दिएको बताए ।

रामपुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोखरेलले जन्मस्थललाई माया गरेर सबैले दायित्व बुझेर खडा बढेको समाजले मिलेर गर्नुपर्छ भन्ने भावना उत्कृष्ट भएको बताए ।
उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले रामपुरको औद्योगिक, पर्यटन र कला संस्कृतिको महिमालाई पहिचान दिन समाजले सहकार्य गर्ने हो भने धेरै पर्यटन ल्याउन सकिने वातावरण बन्ने बताए । रोटरी क्लब अफ रामपुरका अध्यक्ष किर्तिनाथ श्रेष्ठले समाजले रोटरीसँग सहकार्य गरेकोमा धन्यवाद दिदै सामाजिक भावनाको विकासमा प्रतिबद्ध रोटरी सदैव यस्ता महान् उद्देश्य लिएर समाजको हितमा लाग्ने संस्थासँग समन्वय सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

पूर्वी पाल्पा समाज रुपन्देहीका सदस्य तथा कार्यक्रम संयोजक गणेशप्रसाद सेढाईले स्वास्थ्य क्षेत्रमा लामो समयको अनुभवले स्वास्थ्य र शिक्षामा सहयोग गरेर आधारभूत अधिकारप्रति लगानी गरी अब्बल जनशक्ति उत्पादनको लागि समाजले विभिन्न योजना ल्याएको बताए । नमस्ते पाल्पा होटेल रामपुरमा चलेको कार्यक्रम पूर्वी पाल्पा समाज रुपन्देही बुटवल–रामपुरका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता सहकार्य संस्था रोटरी क्लब अफ रामपुरका पूर्व अध्यक्ष सागरप्रसाद देवकोटाको स्वागत तथा पूर्वी पाल्पा समाज रुपन्देही बुटवल–रामपुरका महासचिव भोजराज न्यौपानेको सञ्चालनमा चलेको हो ।

यसैबीच समाजले सोही अवसरमा रामपुर नगरपालिका–६ तिलकपुरस्थित नवदुर्गा माविका २५० जना गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री र खाद्यान्न पनि वितरण गरिएको थियो ।