रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको पदस्थापन सम्पन्न

मेचीकाली संवाददाता

१५ श्रावण २०८१, मंगलवार
319 shares

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । वर्ष २०२३-२४ का अध्यक्ष कृष्णप्रसाद घिमिरेले वर्ष २०२४-२५ का अध्यक्ष डिल्लीराज ढकाललाई पद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा आफ्नो पद हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा गरेका गतिविधिहरूको बारेमा जानकारी गराएका थिए भने वर्षभरि आफूलाई सहयोग गर्ने क्लबका बोर्डका पदाधिकारीहरु सदस्यहरु पूर्वअध्यक्षहरुलगायतलाई धन्यवाद दिँदै सम्मान गरेका थिए । कार्यक्रममा जोन–१८ का जेडआरआर दिवस खनाल, रोट्रयाक क्लब बुटवल डाउनटाउनका पूर्वअध्यक्ष एवं काउन्सिल चेयर बालकृष्ण पाण्डे, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवाली, रोटरी जोन–३३ का एसिस्टेन्ट गभर्नर हिमाल गैरेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीले रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ ले अघि सारेका योजनाहरू विशेषगरी पाँचवटा विधामा केन्द्रित रहेर यो वर्ष क्लबका गतिविधिहरु सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रममा कार्यक्रम प्रस्तोता एवं युथ मोटिभेटर रुपेश श्रेष्ठले रोट्रयाक्टको माध्यमबाट थुप्रै युवाहरू सामाजिक कार्यमा जोडिनु र आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्नु सकारात्मक पक्ष रहेको बताए । केही परम्परागत शैलीलाई परिवर्तन गर्दै थप परिस्कृत भएर अगाडि बढ्नका लागि सुझाव पनि दिए ।

पदभार ग्रहण गर्दै वर्ष २०२४–२५ का अध्यक्ष डिलीराज ढकालले आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका प्रेसिडेन्ट इलेक्ट एवं पदस्थापन समारोह संयोजक आविष्कार खनालको स्वागत, प्रेसिडेन्ट नोमिनी महेश खनालको धन्यवाद, २३–२४ का सचिव सञ्जीव सुनार र २४–२५ का सचीव मन्जु गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।