सिटिइभिटी लुम्बिनी प्रदेश कार्यालय दाङ सार्न निर्देशक आचार्यको अटेरी

मेचीकाली संवाददाता

१८ श्रावण २०८१, शुक्रबार
857 shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लुम्बिनी प्रदेश कार्यालय बुटवलबाट प्रदेश राजधानी देउखुरी सार्न दिएको निर्देशन अटेरी गरेको छ । सामाजिक विकास मन्त्रालयले गत जेठ १७ गते पत्र काटेर असार १ गतेभित्र कार्यालय स्थानान्तरण गर्न ठाडो आदेश दिए पनि कार्यालयले अहिलेसम्म सरेको छैन । कार्यालय अहिले बुटवल–१२ नयाँगाउँमा छ ।

सिटिइभिटी लुम्बिनी प्रदेशका निर्देशक गोपाल आचार्यले आफू मातहतका कार्यालय सार्न कुनै चासो दिएका छैनन् । जसको चौतर्फी आलोचना भइरहेको छ । सिटिइभिटी तालीम परिषद, सानोठिमी भक्तपुरको २० वैशाख २०८० को पत्रअनुसार कार्यालयको लागि भवन उपलब्ध गराइदिन असार ११ गतेको प्रदेश पुर्वाधार विकास प्राधिकरण लुम्बिनीको पत्रानुसार गढवा गाउँपालिकाको ८ असार २०८० को बैठकको निर्णय अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लुम्बिनी प्रदेशको कार्यालय आफ्नै भवन निर्माण भई नसक्दासम्म गढवा गाउँपालिकाको पुरानो गाउ कार्यपालिका रहेको भवन उपलब्ध गराउने निर्णय भएको थियो ।

निर्देशक आचार्यले गढवा गाउँपालिकाको पुरानो भवन उपलब्ध गराउने निर्णय भएपनि त्यहाँ तत्काल सर्न सम्भव नभएको मेचीकाली दैनिकलाई प्रतिक्रिया दिए । ‘त्यसमा कार्यालय सार्दा कार्यसम्पादनमा समस्या हुने भएपछि कार्यालय स्थानन्तरण गर्न ढिलाइ भएको हो’ आचार्यले भने, ‘नयाँ भवनका लागि टेण्डर अनुसार ९ वटा भवन सम्पर्कमा आएको र अब त्यसबाट उपयुक्त भवन छानेर कार्यालय सार्ने तयारीमा छौं ।’