मेचीकाली दैनिक निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत

मेचीकाली संवाददाता

१८ श्रावण २०८१, शुक्रबार
519 shares

बुटवल । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष ०७८/०७९ को पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । उक्त नतिजाअनुसार रुपन्देहीको बुटवलबाट प्रकाशित मेचीकाली सन्देश राष्ट्रिय दैनिक निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत हुन सफल भएको छ ।

२०६२ सालदेखि हालसम्म निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत हुँदै आएको मेचीकाली सन्देश राष्ट्रिय दैनिक काठमाडौं बाहिरबाट प्रकासित हुने एक मात्र राष्ट्रिय स्तरको दैनिक पत्रिका रहेको छ । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण मूल्याङ्कन प्रतिवेदनको आधारमा पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार रुपन्देहीबाट प्रकाशित हुने दैनिक पत्र र बुटवल टुडे पनि ‘क’ वर्गमा वर्गिकरण भएका छन् । भने तिलोत्तमा दैनिक ‘ख’ वर्गमा परेको छ ।

नतिजा उपर चित्त नबुझेको खण्डमा आधारप्रमाण सहित १५ दिनभित्र र दोब्बर दस्तुरमा थप ७ दिनको समयमा पुनरावलोकनको लागि निवेदन दिन सकिने प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँले जानकारी दिए । आर्थिक वर्ष ०७८/०७९ को वर्गीकरण मूल्याङ्कनका लागि देशभरबाट ९ सय पत्रपत्रिकाले आवेदन दिएका थिए ।