अक्सफोर्डमा कक्षा ११ का विद्यार्थीलाई विशेष समारोहबीच स्वागत

मेचीकाली संवाददाता

२ भाद्र २०८१, आईतवार
274 shares

बुटवल । बुटलस्थित अक्सफोर्ड माविले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई आइतबार स्वागत गरेको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयमा विशेष समारोहको आयोजना गरी स्वागत तथा तीज पुनर्मिलन कार्यक्रम गरेका हुन् । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले अक्सफोर्ड बुटवलको मात्र नभई राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित भएको बताइन ।
अर्यालले बुटवलनगर शिक्षाको हव भएको बताउँदै काठमाडौंबाट बुटवलमा विद्यार्थी पढन आउने वातावरण बनाउन समेत आग्रह गरिन । उनले सांस्कृतिक सम्पदाको खानी भएको हुदा यसको जगेर्ना गर्नु विद्यार्थीहरूको पनि दायित्व रहेको सम्झाउदै चाडपर्वहरु मौलिक रुपमा मनाउनुपर्नेमा जोड दिइन । कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षाबोर्ड बुटवलका परीक्षा शाखा प्रमुख बाबुराम भण्डारीले अक्सफोर्ड मावि बुटवलले स्थापनाकालदेखि नै उत्कृष्ट रिजल्ट ल्याउँदै आएको हुँदा धेरै विद्यार्थी तथा अभिभावहरूको रोजाइमा परेको बताए ।
कक्षा ११ विज्ञान, व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा भर्ना भएका ६५० जना विद्यार्थीहरूलाई स्वागत र सम्मान गरिएको थियो । कार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी, विद्यालयका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, ललित खरेल, संस्थापक प्राचार्य यज्ञमुर्ती पाण्डे, शिक्षा अधिकृत यादव विष्ट, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट रिजल्ट ल्याउने १५ जना विद्यार्थीहरूलाई जनही नगद दस हजार र तीन हजारले सम्मान समेत गरिएको थियोे । स्वागत कार्यक्रममा विभिन्न विद्यार्थीहरुका नृत्यहरु प्रस्तुत गरिएको थियो । साथै राष्ट्रिय कलाकार अस्मिता अधिकारीको बेजोड प्रस्तुति रहेको थियोे । कक्षा १२ कि भावना थापा र एलिना थापाको अध्यक्षता, प्राध्यापक सुमन भुसालको स्वागत मन्तव्य तथा विद्यार्थीहरू स्तुति पौडेल, सर्लेट भुसाल, अन्जली खरेल र करिष्मा बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियोे ।